काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेको सभापति पद फुकुवा गर्न माग गरेको छ ।
मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेसहित रास्वपाको टोलीले फुकुवाको माग गरेको हो ।
जवाफमा सभामुख घिमिरेले लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न नसकिने बताए । उनले निलम्बन फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताएको सभामुखको सचिवालयले जनाएको छ ।
‘सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन। मैले सूचनामात्रै जारी गरेको हो’ सभामुख घिमिरेले भने, ‘कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ। मैले निलम्बन फुकुवा गर्न सक्दिनँ ।’
रास्वपाले एक महिनाअघि नै सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको थियो।
तर त्यो पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए। पार्टी बैठकको अध्यक्षतासमेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन्।