काठमाडौँ । राष्ट्रियसभामा प्रस्तुत पाँचओटा प्रतिस्थापन विधेयकप्रति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
२०८१ चैत १८ गते सोमबार राष्ट्रियसभाको सत्रौँ अधिवेशनअन्तर्गत बैठक सङ्ख्या २० मा उहाँले संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।
सांसद राजेशले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक–२०८१’’निजीकरण (पहिलो संशोधन) विधेयक–२०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ मा संशोधन राख्नुभएको थियो ।
उहाँद्वारा प्रस्तुत संशोधन सुशासन प्रवर्द्धनसम्बन्धी संशोधनमा तीनओटा, सहकारीसम्बन्धी विधेयकमा छओटा, आर्थिक कार्यविधिसम्बन्धी विधेयकमा तीनओटा, निजीकरणसम्बन्धी विधेयकमा चारओटा र आर्थिक तथा व्यावसायिक वातावरणसम्बन्धी विधेयकमा तीनओटा बुँदा रहेका छन् ।
फरक फरक विधेयकमा फरक फरक समयमा संशोधन राख्दै उहाँले सरकारको कार्यशैली देखाउने खसी, खुवाउने फर्सी, त्यो पनि पर्सिजस्तो रहेको टिप्पणी गर्नुभयो ।
सरकारको यस्तो कार्यशैलीका कारण जनतामा असन्तुष्टि बढिरहेको र प्रतिगामीले सो असन्तुष्टिबाट फाइदा उठाउन खोजिरहेको बताउनुभयो ।
राष्ट्रियसभाले आजै पाँचओटै विधेयक पारित गरेको छ ।




