काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सत्तापक्षीय दलहरूप्रति व्यङ्ग्य गर्दै भन्नुभएको छ– ‘चैत १५ गतेको कमान्डरलाई संसद्भित्रका विभिन्न पार्टीले पनि कमान्डर बनाएकै हुन् ।’
२०८१ चैत १८ गते सोमबार प्रनिनिधिसभाको विशेष समयमा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘चैत १५ गतेको घटनाबारे सामान्य अनुमान सबैलाई थियो’ राजावादीले बनाएका कमान्डर दुर्गा प्रसाईंको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘ती जनकमान्डरलाई यहाँ संसद्भित्रका पार्टीहरूले पनि कमान्डर बनाएकै हुन्, घरी पूर्वाञ्चलको कमान्डर, घरी के के । अहिले निर्मल निवासले पनि जनकमान्डर बनायो ।’
उहाँले दुर्गा प्रसाईंजस्तो व्यक्तिलाई कमान्डर बनाएपछि जनधनको क्षति हुनु पूर्वानुमानित रहेको बताउनुभयो ।
आफूले संसद्का पहिलेका बैठकमा नै गुमेको स्वर्ग फिर्ता गर्न पुनरुत्थानवादीले प्रयत्न गरिरहने बताएको उहाँले स्मरण गराउनुभयो ।
‘मैले संसद्का पहिलेका बैठकमा नै भनेको थिएँ, गुमेको स्वर्ग प्राप्त गर्न पुनरुत्थानवादीले प्रयत्न गर्दछन् । यो नेपालको मात्रै होइन, संसारकै नियम हो’ उहाँले भन्नुभयो– ‘तर सत्तापक्षका साथीहरू सच्चिनुभएन । खतरा कताबाट छ भन्ने बुझ्नुभएन । सत्ता र शक्तिमा आएका पार्टीहरूको चरित्र जनताको पक्षमा भएन । त्यहीले प्रतिगामीले खेल्ने मौका पाए ।’
उहाँका अनुसार गणतन्त्र स्थापना भएपछि सत्तामा पुगेका दलको कमीकमजोरीका कारणले नै यतिखेर प्रतिगामी शक्तिको उत्साह बढेको बताउनुभयो ।
लोकतन्त्र कसैले बक्सिस दिएको नभएर आन्दोलनको बलबाट प्राप्त भएको बताउँदै अध्यक्ष केसीले गणतान्त्रिक शक्तिको माझमा कैयौँ मतभेद रहे पनि प्रतिगामी खतरा रोक्ने सवालमा सहकार्य गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीमाझ कैयौँ गम्भीर मतभेद छन् । त्यसका बाबजुद लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता बचाउन हामी एक हुनुको विकल्प छैन ।’
सांसद केसीले लोकतन्त्र, गणतन्त्र बचाउन सर्वप्रथम गणतान्त्रिक शक्ति नै सच्चिनुपर्ने आवश्यकतामा पुनः जोड दिनुभयो ।
‘प्रतिगामी खतराको विरुद्ध लड्न सर्वप्रथम सत्तामा पुगेका गणतान्त्रिक शक्ति नै सच्चिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘अबदेखि हामीबाट यी गल्ती हुने छैनन् भनेर जनतामाझ माफी माग्नुपर्दछ ।’