काठमाडौँ । अखिल (छैठौं) ले देशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एक भई प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्न आग्रह गरेको छ ।
अध्यक्ष सुवाश जिसीको हस्ताक्षरमा २०८१ चैत १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै युनियनले सो आग्रह गरेको हो ।
युनियनले हिजो चैत १५ गते राजावादीको तोडफोडको भर्त्सना गर्दै घटनामा ज्यान गुमाउनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“गत २०८१ चैत १५ गतेका दिन राजावादीको कथित प्रदर्शनका नाममा निजी घर, व्यावसायिक प्रतिष्ठान, विभिन्न सञ्चारगृह र सरकारी तथा निजी गाडीलगायतलाई निसाना बनाएर गरिएको तोडफोड, आगजनी, लुटपाट र पत्रकारलाई ज्युँदै जलाएर हत्या गर्ने प्रकारका हिंसक र जघन्य आपराधिक कार्यको हाम्रो सङ्गठनले घोर विरोध तथा कडा शब्दमा भर्त्सना गर्दछ ।
उक्त आपराधिक घटनाको क्रममा ज्यान गुमाउने पत्रकार सुरेश रजक र सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । उक्त घटनामा संलग्न अपराधी, घटना घटाउन उत्प्रेरित गर्ने मतियारसमेतलाई तुरुन्त पहिचान गरी कडाभन्दा कडा सजाय गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।
राजावादीले निरन्तर गणतन्त्रप्रति हमला जारी राखेका छन् । देशमा व्याप्त भ्रष्टाचार, कुशासन र जनतामा रहेको निराशाको फाइदा उठाउँदै त्यसकै बलमा आफ्नो मरेको “स्वर्ग” लाई ब्युँताउने मूर्खतापूर्ण धृष्टता राजावादीले गरेका छन् । अवश्य पनि गणतन्त्रले जनताका आधारभूत समस्या समाधान गर्न सकिरहेको छैन । ठुला दल र तिनीहरूका भ्रष्ट नीतिले जनतामा असन्तोष बढिरहेको छ तर यी समस्याको समाधान कुनै पनि प्रकारको सामन्तवाद र प्रतिगामी व्यवस्थावाट सम्भव छैन । विगतमा २४० वर्षसम्म राजतन्त्रले देशलाई कैयौँ वर्षपछाडि धकेलेको इतिहासलाई हामीले बिर्सनु हुँदैन ।
सामन्तवाद र प्रतिगामीको चरित्र सर्वथा जनतामाथि बर्बरतापूर्ण हिंसा, दमन र अत्याचार गर्नु हो । तीनकुनेको आपराधिक घटनाले यसलाई पुष्टि गरेको छ । त्यसकारण हामीले गणतन्त्रलाई सुदृढ गर्दै, जनतामा उच्च प्रकारको राजनैतिक चेतना र विचार निर्माण गर्दै पार्टी र नेतालाई राज्य, सरकार र जनताप्रति समर्पित, जवाफदेही र उत्तरदायी बनाउने प्रयत्नमा जोड दिनुपर्दछ ।
राजावादी र प्रतिगामी तत्त्वको विरुद्ध आज सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने आवश्यकता बढेर गएको छ । हामीले सम्पूर्ण गणतन्त्रवादी पार्टी, विद्यार्थी सङ्घसङ्गठन तथा राष्ट्रवादी व्यक्तिलाई एकताबद्ध भई प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्नसमेत हार्दिक अपिल गर्दछौँ ।”