काठमाडौँ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अपरान्ह सूचना प्रकाशित गरी कर्फ्यु आदेश जारी गरेको हो ।
शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यू आदेशमा राति १० बजेसम्म सो क्षेत्रभित्र भेला जुलुश प्रदर्शन घेराउ जस्ता गतिबिधि गर्न नपाउने प्रशासनले जनाएको छ ।
कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो। प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ। प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो।
अहिले राजावादीको प्रदर्शनसभा स्थल तीनकुने मैदानमा खाली गराइएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेको थियो।
त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए।

Advertisement