काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि नै बनेको मितिलाई निरन्तरता दिने निर्णय गरेको हो । मिश्र नेतृत्वको सर्च समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन्।
एकजना राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवं अध्यक्षले तोकेको एक जना सदस्य रहने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
उनले भने ,‘सिफारिस समितिको म्याद थपिएको हुनाले धेरै दिन भएकाले फेरि त्यही समिति आएको छ । बेपत्ता पारिएको व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, वा उनले तोकेको एक सदस्य, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा. अर्जुनकुमार कार्की, स्टेला तामाङ रहेको सर्च कमिटी गठन गर्ने ।’
मन्त्री गुरुङले थपे, ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पूर्वगभर्नरको तर्फबाट विजयराज भट्टराई र विज्ञहरुको तर्फबाट विश्व पौडेल सदस्य रहेको समिति गठन गर्ने ।’