काठमाडौँ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ नेतृत्वको व्यावसायिक कानुन व्यवसायी समूहको चुनावी प्रतिबद्धतापत्रमा सङ्घीयतालाई संस्थागत राख्ने विषय समेटिएपछि अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) ले त्यसप्रति आपत्ति जनाएको छ ।
२०८१ चैत ८ गते शुक्रबार अध्यक्ष अधिवक्ता पदम रोका र महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेको हस्तक्षरमा वक्तव्य जारी गर्दै अन्लाले आपत्ति प्रकट गरेको हो ।
“यो समूह वैचारिक रूपमा मतमतान्तर रहेका सङ्गठनबिचको चुनावी सहकार्य हो भन्ने कुरामा हाम्रो सङ्गठन प्रष्ट छ” वक्तव्यमा अगाडि भनिएको छ– “तर सहमतीका साझा विषयलाई मात्र प्रतिबद्धतापत्रमा उल्लेख गर्नुपर्नेमा मतान्तर रहिआएको सङ्घीयताको विषयलाई सहकार्यको सिद्धान्त एवम् मूल्यमान्यता विपरीत निर्वाचनको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको हुँदा उक्त सङ्घीयता शब्दावलीमा हाम्रो सङ्गठनको असहमति रहेको र हाम्रो देशलाई दीर्घकालीन असर पुऱ्याउने र खण्डित गर्ने सङ्घीयता खारेजको लागि हामी निरन्तर क्रियाशील रहिआएको कुरा सार्वजनिक जानकारी हुँदाहुँदै त्यसको विपरीत सङ्घीयता कार्यान्वयनको कुरालाई जोड दिई प्रतिबद्धता पत्रमा समावेश गरिएको विषयमा असहमती प्रकट गर्दै यो वक्तव्य जारी गरिएको छ ।”
वक्तव्यमा सङ्घीयताको विषयमा असहमती जनाएको पनि संयुक्त चुनावी सहकार्यमा कुनै असर नपर्ने पनि उल्लेख गरिएको छ ।
व्यवसायी प्यानलमा उपत्यकाबाहिरको केन्द्रीय सदस्यमा अन्लाका केन्द्रीय सदस्य अधिवक्ता कृष्णप्रसाद आचार्य उम्मेदवार हुनुहुन्छ ।
नेपाल बार एसोसियसनको चुनाव आगामी चैत २३ गते हुँदैछ ।
