रवि पौडेल ##
माघ महिनातिर कोटेश्वरको घरमा एउटा घटना घट्यो । कोटेश्वर र उनका सबै भाइ भारत प्रवासमा थिए । करिब एक हप्ता पहिलेदेखि आमा बिरामी भएको खबर आइरहेको थियो ।
भर्खर दशैँ र तिहारमा रमाइलोसँग चाड मनाएका थिए उनिहरूले । तिहारमा परिवारसँग आमा पनि भैलोमा खुब नाच्नुभएको थियो । रमाइलो भएको थियो । कोटेश्वरका भाइहरूले आमा र बाबालाई एक्लै छाडेर भारततर्फ गएका थिए किनकि उनीहरूले कर्मथलो भारतलाई बनाएको करिब २५ वर्ष भइसकेको थियो । आफ्ना जहानपरिवार, बच्चाबच्ची पालनपोषण र शिक्षा दिनकै लागि अर्कैको देश ताक्नुपर्ने नेपाली नागरिकमध्ये कोटेश्वर र तिनका भाइको कथा पनि त्यहीँ थियो ।
सुनिन्छ, कोटेश्वर र भाइहरूमध्ये सामान्य छलफल भएको थियो रे झ् आमा बिरामी हुनुभएको र रेखदेख गर्ने, हस्पिटल उपचार गर्न लैजानेसम्म कोही नभएको हुनाले कोही त जानुपर्छ भन्ने छलफलमा चलेको रहेछ तर कुरा मिलेनछ । ड्युटीमा छुट्टीको समस्या । अप्ठ्यारो र कठिन स्थिति । आर्थिकको पनि उस्तै समस्या थियो रे तर पनि यो भन्दा ठुलो समस्या आमालाई आइपरेको थियो भन्ने कुरा कोटेश्वरले सुनाए ।
हामीले यो कुरा राम्रोसँग बुझेका थियौँ । अनेकौँ दुखकष्टको परिस्थितिमा पनि आमाले जसरी पालनपोषण गरेर हुर्काउँदै यो समाजमा ढुक्कसँग बोल्न सक्ने क्षमता प्रदान गर्नुभएको थियो, त्यसको मूल्य हामीले दिन त सक्दैनौँ तर पनि समस्या समाधानको खातिर आर्थिक र कहिलेकाहीँ चाडपर्वमा भौतिक उपस्थितिबाहेक पानी खुवाउनुपर्ने समयमा पानी पनि दिन सकेनौँ । माघ १५ गतेको त्यो घटनाले निकै पीडा भएको छ, जहाँ हामीले आफ्नै जन्म दिने प्रिय आमालाई गुमाउनुपऱ्यो । अहिले आधा इतिहास सकिएको महसुस भएको छ ।
कोटेश्वरले आफ्नो वेदना यसरी सुनाएका थिए ।
घरमा कैयौँ आवश्यकता परिपूर्तिका लागि आर्थिक चाहिन्छ भने माया र ममताका लागि सामाजिक भावना सद्भाव चाहिन्छ । तन, मन, धन कसले कति गर्न सक्ने सम्भावना हुन्छ, त्यो गर्नुपर्ने हुन्छ । नजिक भएकाले भौतिक रूपमा र टाढा भएकाले आर्थिक सहयोग गर्नु नै कर्तव्य हुन्छ ।
समाजमा आमाबाबुका लागि धेरै गरेँ भन्ने धेरै छन् । कसले कति गऱ्यो ? यसको हिसाब माग्ने पनि छन् । हिसाब राख्ने पनि छन् ।
कोटेश्वर भन्छन्– हामीले जुन कर्तव्य निभाउनुपर्ने थियो, निभाउँदा–निभाउँदै पनि हामी चुकिरहेका हुन्छौँ । बिरामी जस्तोसुकै होस्, मानिसको चाहना बचाउने हुन्छ । जब बचाउन सक्दैनौँ अनि पछुतो हुन्छ । त्यो इतिहास बन्छ । आज यो इतिहाले पीडाबोध गराएको छ ।
जीवनमा जन्म र मृत्यु गाँसिएको हुनाले कतिपय मानिसले मृत्युलाई हल्का रूपमा पनि लिने गरेका हुन्छन् । जीवन समाप्तिसँग कैयौँ आशा र भरोसा पनि समाप्त भएका हुन्छन् । सपना चकनाचुर भएका हुन्छन् । घर अँध्यारो हुन्छ । छिमेक सुनसान हुन्छ । आफन्तजन शोकाकुल हुन्छन् । धेरै कुराको खाँचो खड्किएको हुन्छ । आमाको अभावमा छोराछोरीको जीवन अधुरो हुन्छ ।
हो, आज बत्ती निभेको छ । दिन पनि औँसीको रातजस्तै बनेको छ । घरआँगन सुनसान छ । एकान्तकुनो बनेको छ । रुख ढलेका छन् । हाँगा भाँचिएका छन् । मुटुको ढुकुढुकी बढेको छ । आँखा रसाएका छन् । भोक लाग्दैन । निँद्रा आउँदैन; मानौँ, यो संसारमा अब अरू कोही छैन । एकान्त, अँध्यारो र सुनसान बनेको छ ।
काँडामा टेकेको महसुस भएको छ । पहाडबाट लडेर घाइते भएको महसुस भएको छ । हात भाँचिएको छ । खुट्टामा चोट लागेको छ ।
सान्त्वना दिनका लागि आधा दर्जन संस्था आए । छिमेकी र आफन्तज आए । आमाको श्रद्धाञ्जलीफोटा पनि प्रदान गरे । मृत शरीरमा फूलमाला अर्पण गर्दै चीरशान्तिको कामना गरे र भने– शोकाकुल परिवाजनप्रति धैर्यधारणको कामना ।
कोटेश्वर भनिरहेका छन्– घाउ आलै छ । अझै पीडाबोध भएको छ ।

