सुरेश थापा ##
जीवनका सबै क्षेत्रमा अनुशासनको महत्त्व छ । अनुशासनले जीवनलाई सार्थक बनाउँछ । अनुशासन भनेको नियम पनि हो ।
मानव जीवनको कुरा मात्र होइन, ब्रह्माड वा प्रकृति पनि निश्चित नियममा चलिरहेको हुन्छ; जस्तै : पृथ्वीले सूर्यलाई निश्चित नियमका आधारमा परिक्रमा गरिरहेको हुन्छ । समाज, परिवार वा व्यक्तिगत जीवन अगाडि बढाउन कैयौँ नियम वा अनुशासन बनेका छन् । त्यसैले हामीले जीवनका सबै क्षेत्रमा अनुशासनको कुरा गरेको सुन्छौँ । स्कुलमा विद्यार्थीको, खेलमा खेलाडीको, व्यापारका व्यापारीको, धर्ममा भक्तजनको, कार्यालयमा कर्मचारीको, सरकारमा मन्त्री वा सांसदको, घरमा परिवारका सदस्यको जताजतै अनुशासनको कुरा हुने गर्दछ । अनुशासन पालन गर्नुपर्छ वा अनुशासन उलङ्घन भयो भन्नेजस्ता कुरा हामी सुनिरहन्छौँ । त्यसरी नै समाज वा जीवनका सबै क्षेत्रमा अनुशासनको पालनामा जोड दिने गरिन्छ र त्यसका लागि प्रशिक्षण पनि हुने गर्दछन् ।
कुनै पनि चिजको अस्तित्वको लागि पनि अनुशासन आवश्यक पर्दछ; जस्तो : एउटा विद्यार्थीको काम स्कुल जानु, पढ्नु, गृहकार्य गर्नु, परीक्षामा सामेल हुनु हो । यदि उसले त्यो काम गरेन वा गर्दैन भने त्यो विद्यार्थीको रूपमा रहिरहन सक्दैन । त्यसैगरी, एउटा व्यापारीले बिहान पसल खोल्ने काम गर्छ, दिनभर ग्राहक कुर्छ । यदि उसले समयमा पसल नखोल्ने, छिट्टै बन्द गर्ने वा धेरै दिनसम्म पसल नखोल्नेजस्ता काम गर्न लाग्यो भने अन्ततः ऊ टाट पल्टिन्छ र व्यापारीको रूपमा रहन सक्दैन । त्यसैगरी, एउटा किसानले प्रकृतिको नियमअनुसार खेतिपाती गर्दैन† जस्तो कि सिँचाइ नगरीकन मकै छर्छ† सिँचाइ नभएको ठाउँमा धान रोप्छ† गर्मी ठाउँ अर्थात् तराईमा स्याउखेती गर्छ भने ऊ किसान रहिरहन सक्दैन ।
मानिसको हकमा पनि त्यो कुरा लागु हुन्छ । पशुभन्दा फरक र सचेतन गतिविधिका कारण जनावरबाट मानिस छुट्टिएको हो । यदि मानिसले त्यस प्रकारको गतिविधि वा व्यवहार गर्न सकेन भने ऊ पशुतुल्य हुन जान्छ । त्यसैले मानिसले मानिसको रूपमा आफूलाई प्रस्तुत गरिरहन अनुशासनको पालना गर्नुपर्दछ । यसरी अस्तित्वरक्षाको लागि पनि अनुशासनको पालना अनिवार्य हुन्छ ।
दोस्रो कुरा, अनुशासनले गति प्रदान गर्दछ अर्थात् गति भनेको प्रगति पनि हो । जस्तो माथि उदाहरण दिइयो, विद्यार्थी, खेलाडी, व्यापारी, किसान वा अरू कसैले राम्रोसँग अनुशासन पालना गर्दछ भने तिनीहरूको प्रगति भइरहेको हुन्छ । विद्यार्थी अनुशासित भयो भने उच्च शिक्षातर्फ सफल हुँदै जान्छ† व्यापारी अनुशासित भयो भने व्यापार बढ्दै जान्छ; त्यस्तै त्यस्तै । अनुशासनबिना प्रगति सम्भव छैन । त्यसैले अनुशासन आफैमा महत्त्वपूर्ण विषय हो । यो सर्वव्यापी र सार्वभौम छ ।
जे गर्न हुन्छ, त्यो गर्नु र जे गर्न हुँदैन, त्यो नगर्नु अनुशासन हो; जस्तो : जनतालाई सुशासन दिनु राज्यको अनुशासन हो । सामाजिक मूल्यमान्यतामा रहनु सामाजिक अनुशासन हो । खेलको नियमलाई पालना गर्नु खेलाडीको अनुशासन हो । सन्तुलित आहारविहार र व्यायाम स्वास्थ्यसम्बन्धी अनुशासन हो । परिवारको मर्यादाभित्र रहनु पारिवारिक अनुशासन हो । जब तत् तत् सबै स्थानमा अनुशासनको सही पालना हुँदैन, त्यहाँ असन्तुलित परिस्थिति पैदा हुन जान्छ । त्यसैले अस्तित्व र विकासका लागि अनुशासनको पालना अनिवार्य हुन जान्छ । सिङ्गो ब्रहमाण्ड, प्रकृति वा मानव जीवन निश्चित अनुशासन वा नियमका आधारमा नै अस्तित्वमा रहँदै आएको छ; जस्तो कि पृथ्वीले सूर्यलाई परिक्रमा गर्न छोडेमा पृथ्वीको अस्तित्व के होला ? सहजै अनुमान गर्न सकिन्छ ।
पार्टी, सङ्गठन वा सङ्घसंस्था पनि यो प्रकृति, चराचर जगत् वा समाजभन्दा बाहिरका चिज होइनन्, जहाँ अनुशासनको आवश्यकता नपरोस् । त्यसैले तिनीहरू पनि निश्चित अनुशासनका आधारमा चलेका हुन्छन् र त्यसका सदस्यले त्यसको पालना गर्नुपर्दछ । कम्युनिस्ट पार्टीका लागि पनि त्यो कुरा सत्य हो ।
यो पनि प्रष्ट छ कि अनुशासन वा नियम सबै स्थानमा एकै प्रकारको हुदैन । फरक फरक स्थानमा फरक फरक हुने गर्दछ । विद्यार्थीको नियम व्यापारमा लागु हुँदैन । व्यापारको नियम कृषिमा लागु हुँदैन । फुटबलको नियम क्रिकेटमा लागु हुँदैन । हिन्दुको नियम मुसलमानमा लागु हुँदैन । यो कुरा पार्टी वा सङ्गठनको हक पनि हो । फरक फरक उद्देश्य, लक्ष्य वा दर्शन बोकेका पार्टीका अनुशासनका नियम पनि फरक फरक रहेका हुन्छन् ।
नेपाली काङ्ग्रेसको आफ्नै प्रकारका अनुशासनका नियम छन् । उसले आफ्नो लक्ष्य वा आदर्शअनुरूप अनुशासनका नियम बनाएको छ । त्यस्तै, राप्रपा आफ्नै प्रकारका अनुशासनका नियम छन् । जस्तो नेकाका सदस्यलाई राजतन्त्रको विरोधमा बोल्न छुट छ तर त्यही छुट राप्रपाका सदस्यलाई छैन । ठिक त्यस्तै कम्युनिस्ट पार्टीका आफ्नै प्रकारका अनुशासनका नियम हुन्छन् । बेग्लै प्रकारका नियममा आधारमा नै पार्टीबिचमा भिन्नता कायम रहेको हुन्छ । नेकाका नियम पालन गरेर कम्युनिस्ट हुन सम्भव छैन । त्यस्तै कम्युनिस्ट पार्टीका नियम मानेर नेका हुन सम्भव छैन । त्यसैले कम्युनिस्ट पार्टी हुनका लागि उसले कम्युनिस्ट पार्टीका आधारभूत नियम वा अनुशासनको पालना गर्नु आवश्यक छ ।
कम्युनिस्ट पार्टीको अनुशासन लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित छ । यो सिद्धान्तको प्रतिपादन लेनिनले गर्नुभएको हो ।
लेनिनको विचारमा कडा अनुशासनमा आधारित कम्युनिस्ट पार्टीले मात्र क्रान्तिको जिम्मेवारी पूरा गर्न सक्दछ । कम्युनिस्ट अनुशासनलाई सैन्य वा लौह अनुशासन पनि भनिन्छ । त्यस प्रकारको अनुशासन आम जनताले पालना गर्न सम्भव नहुने हुँदा लेनिनले आम जनताबाट छनोट गरिएका व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य हुन सक्ने नियम बनाउनुभयो । त्यसकारण लेनिनले कम्युनिस्ट पार्टी “क्याडर्स पार्टी” अथवा कार्यकर्ताको पार्टी बताउनुभएको छ । यसरी कम्युनिस्ट पार्टी “मास” पार्टी होइन । आम जनतालाई कम्युनिस्ट पार्टीको वरिपरि गोलबन्द गर्नका लागि उसले विभिन्न प्रकारका पेसागत वा जनवर्गीय सङ्गठन बनाउने गर्दछ ।
कम्युनिस्ट पार्टीमा लौह अनुशासनको अभ्यास जनवादी केन्द्रीयताको आधारमा गरिन्छ । जनवाद भनेको स्वतन्त्रता हो भने केन्द्रीयता भनेको अनुशासन हो अर्थात् कम्युनिस्ट पार्टीमा केन्द्रीयतामा आधारित जनवादको अभ्यास हुने गर्दछ । जनवाद र केन्द्रीयताको सन्तुलन नै जनवादी केन्द्रीयता हो । केन्द्रीयताबिनाको जनवाद अराजकतावाद हो भने जनवाद विनाको केन्द्रीयता अधिनायकवाद हो ।
जनवादी केन्द्रीयताको सिद्धान्तको सारलाई लेनिनले एक वाक्यमा स्पष्ट पार्नुभएको छ : छलफलमा स्वतन्त्रता, काममा एकता । छलफलमा स्वतन्त्रताले जनवादको ग्यारेन्टी गर्छ भने काममा एकताले केन्द्रीयतालाई लागु गर्दछ । निर्णयपूर्व हुने छलफलमा असहमति राख्ने, विरोध गर्ने, आलोचना गर्ने वा उजुरी गर्ने स्वतन्त्रता हुन्छ भने जब निर्णय हुन्छ, असहमति वा आफूलाई निर्णय ठिक नलागेको अवस्थामा पनि बहुमतले गरेको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्दछ । आफूलाई निर्णय चित्त नबुझेको वा आफूले भनेजस्तो निर्णय नभएको भनेर बहुमतको निर्णयको विरोध गर्ने, कार्यान्वयन नगर्ने वा गरे पनि दृढतापूर्वक नगर्ने छुट कम्युनिस्ट पार्टीमा हुँदैन । यो नै अन्य बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीमा हुने अनुशासनसम्बन्धी महत्त्वपूर्ण अन्तर हो । यस प्रकारको नियमले एकातर्फ पार्टीलाई मजबुत एकतामा बाधेको हुन्छ भने अर्कोतर्फ निर्णय कार्यान्वयनको सुनिश्चितता गर्दछ ।
त्यसैगरी, जनवाद तलबाट माथि अभ्यास गरिन्छ भने केन्द्रीयता माथिबाट तल लागु हुन्छ अर्थात, असहमती, विरोध, आलोचना वा अजुरी सम्बन्धित समिति वा उपल्लो समितिमा राख्न पाइन्छ भने आफू रहेको समितिभन्दा तल्ला समितिमा त्यस प्रकारका विषय राख्न पाइँदैन ।
सामान्यतः कम्युनिस्ट आन्दोलनमा जनवादी केन्द्रीयताको सिद्धान्तलाई सबैले स्वीकार गरेको पाइन्छ तर व्यवहारमा अराजकताको अभ्यासका कैयौँ उदाहरण पाइन्छन् यद्यपि अराजकता मान्छेको जन्मजात प्रवृत्ति हो । त्यसलाई बदल्नका लागि लामो अभ्यास आवश्यकता पर्दछ । सेनामा भर्ना भएका कैयौँ व्यक्तिहरू सेनाको कडा अनुशासनलाई पालन गर्न नसक्दा तालिमकै बिचबाट भाग्ने पनि गर्दछन् तर धेरै त्यही कडा अनुशासनमा अभ्यस्त हुन्छन् । कम्युनिस्ट आन्दोलन पनि कडा अनुशासनमा आधारित भएकाले व्यवहारमा कैयौँ समस्या पैदा हुने गर्दछन् । निम्नपुँजीवादी दृष्टिकोणका कारण बुद्धिजीवीमा अलि बढी नै अराजक प्रवृत्ति पाइन्छ । त्यसैले लेनिनले बुद्धिजीवीलाई पार्टीमा भर्ना गर्दा अपेक्षाकृत कडा नीति अपनाउनुपर्ने कुरामा जोड दिनु भएको छ । विद्यार्थी पनि बुद्धिजीवी नै हुन् । उनीहरूमा पनि त्यस प्रकारको प्रवृति प्रशस्त देख्न पाइन्छ ।
निम्नपुँजीवादी विचारको आधारमा भनेको व्यक्तिवाद हो । यो यस्तो प्रवृत्ति हो, जसमा लगनशीलता र अनुशासनमा दृढताको अभाव हुन्छ । सङ्गठन र अनुशासनको क्षेत्रमा यो अराजकतावादको रूपमा प्रकट हुन्छ । यसले क्रान्तिको हितलाई भन्दा व्यक्तिगत स्वार्थ र महत्त्वकाङ्क्षालाई माथि राखेर सोच्ने गर्दछ । निम्नपुँजीवादी तत्त्व आफ्नो स्वार्थमा बाधा नपर्ने अवस्थासम्म सक्रिय हुन्छन् तर सुरुमा जति सक्रियता, जोश, उत्साह र वीरताको प्रदर्शन गरेतापनि जब स्वार्थमा बाधा पर्न थाल्दछ, उनीहरू क्रमशः निस्क्रिय र पलायन हुन थाल्दछन् । जति निम्न पुँजीवादी दृष्टिकोण हावी हुँदै जान्छ, त्यो क्रमले तीव्रता पाउँछ । व्यक्तिगत जीवन र पारिवारिक स्वार्थ प्रधान बन्न जान्छ, पलायन र गद्दारीको बाटो रोज्न पुग्दछन् ।
निम्नपुँजीवादी चिन्तन गैरमार्क्सवादी विचारधारा हो । निष्कर्षमा यो पुँजीवादी विचार हो । यस प्रकारको चिन्तनका कारणले गर्दा जीवन, जगत्, वर्गसङ्घर्ष वा क्रान्तिको बारेमा सही दृष्टिकोण अपनाउनु उनीहरूका लागि सम्भव हुँदैन । उनीहरू क्रान्ति लामो र जटिल प्रक्रिया हो भन्ने कुरा बझ्न सक्दैनन् । त्यही क्रान्तिप्रतिको शीघ्र सफलताको चाहनाले “वामपन्थी” दुस्साहसवादको जन्म दिन्छ । यो वास्तवमा क्रान्तिप्रतिको निराशा, कुण्ठा, महत्त्वाकाङ्क्षा र क्रान्तिकारी अधैर्यताको परिणाम हो । “वामपन्थी” दुस्साहसवाद अन्ततः दक्षिणपन्थी अवसरवादमा पतन हुन पुग्दछ । त्यसैले निम्नपुँजीवादी अराजकतावाद विरुद्ध दृढतापूर्वक सङ्घर्षको नीति अपनाउनुपर्दछ ।
पुँजीवादी वा बुर्जुवाले जनवादी केन्द्रीयतामा आधारित अनुशासनलाई पूरै गलत मान्दछन् र त्यसलाई अधिनायकवादी प्रणाली बताउँछन् । संशोधनवादी, दक्षिणपन्थीले पनि अहिलेको परिस्थितिमा लेनिनको सङ्गठनात्मक प्रणाली व्यावहारिक नभएको भन्दै त्यसमा संशोधन गर्नुपर्नेमा जोड दिन्छन् । उनीहरूले बहुमतले गरेका निर्णय अल्पमतले मान्नुपर्ने, तिनीहरूलाई कार्यान्वयन गर्नुपर्ने, चित्त नबुझेका कुरा सार्वजनिक रूपमा व्यक्त गर्न नपाइनेजस्ता नियम अहिलेको अवस्थामा उपयुक्त नभएको बताउँछन् । उनीहरूको विचारमा त्यस प्रकारको नियम बदलिँदो विश्व परिवेशमा असान्दर्भिक भएको बताउँछन् । उनीहरूले व्यक्तिगत स्वतन्त्रतामा बढी जोड दिने गर्दछन् । यस प्रकारका बुर्जुवा वा संशोधनवादीका अराजकतावादी अनुशासनहीन सोचाइबाट पार्टीभित्रका कैयौँ निम्न सैद्धान्तिक स्तर भएका साथीहरू प्रभावित हुने गर्दछन् । त्यसबाट बुद्धिजीवी वा विद्यार्थी वर्गबाट आएका कार्यकर्ता नै बढी प्रभावित भएको पाइन्छ । निम्नपुँजीवादी विचारको अन्त्य र सर्वहारा दृष्टिकोणको निर्माण गरेर नै हामीले क्रान्तिकारी अनुशासनलाई कायम राख्न सक्छौँ । मार्क्सवादी–लेनिनवादी शिक्षाको अध्ययनबाट नै हामीले त्यस प्रकारको दृष्टिकोण निर्माण गर्न सक्छौँ र गर्नुपर्दछ ।