मनोज भट्ट
पाठकलाई ट्रोल भन्ने शब्द नयाँजस्तो लाग्न सक्दछ । ट्रोलसेना कुन मुलुकको सेना हो ? यो सेनाबाट नेपाल वा विश्वको राजनीतिलाई के प्रभाव पार्दछ र यसबाट किन सावधान हुनुपर्दछ भन्ने लाग्न सक्दछ ।
इन्टरनेट वा भर्चुअल दुनियाँमा ट्रोल चीर–परिचित शब्द हो । तर नेपालको इन्टरनेट प्रयोगकर्ताका लागि यो शब्द नौलो लाग्न सक्दछ । तर व्यवहारमा ट्रोलिङ गर्ने काम नेपालमा पनि व्यापक रूपमा हुने गरेको छ । ट्रोलको ठ्याक्कै नेपाली अर्थ जनाउने शब्दको अभाव छ । इन्टरनेट प्रयोग गरेर सामाजिक सञ्जालको माध्यमबाट कसैमाथि मिथ्या आरोप लगाउनु, तथ्यलाई बङ्ग्याएर प्रस्तुत गर्नु, कुनै व्यक्तिप्रति घृणा र द्वेष फैलाउने चित्र वा कार्टुनको प्रयोग गर्नुलाई ट्रोल वा ट्रोलिङ गर्ने कार्य भनिन्छ ।
इन्टरनेट वा सामाजिक सञ्जाल प्रयोग गरेर वा सामाजिक सञ्जाल कम्पनीको व्यावसायिक इमान्दारितालाई समेत व्यापक दुरूपयोग गरेर आफूसँग असहमत, विपक्षी वा विरोधीका विरुद्ध ट्रोल प्रचारशैलीलाई उपयोग गर्ने गर्दछन् । यो मामिलामा अमेरिकाको राष्ट्रपति ट्रम्प निकै बद्नाम छन् । ट्रम्पले सामाजिक सञ्जाल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यो कार्यका लागि व्यापक रूपमा प्रयोग गर्ने गर्दछन् । अरूमाथि मिथ्या आरोप लगाएर लगातार बद्नाम गर्ने कार्यलाई नियमित सञ्चालन गर्न ट्रम्पले ट्रोलसेना नै बनाएका छन । ट्रोलसेना भन्नुको तात्पर्य भौतिक रूपले मानवाबद्ध सेना होइन ।
अमेरिकामा खोलिएको फेसबुक एकाउन्टमध्ये ९० प्रतिशत एकाउन्ट फेक अर्थात् नक्कली हुने गर्दछन् । यद्यपि यो विश्वब्यापी समस्या हो । ट्रम्प प्रशासनले त्यस प्रकारका फेसबुक एकाउन्टलाई प्रयोग गरेर वा ठुलो सङ्ख्यामा नक्कली फेसबुक ट्विटर एकाउन्ट खोलेर नियमित रूपमा आफ्ना विपक्षी वा जनपक्षीय शक्तिमाथि लगातार मिथ्या आरोप लगाएर बद्नाम गर्ने कार्य गरिरहने भएकाले त्यस्तो कार्यमा संलग्नलाई ट्रोलसेना भनिएको हो । स्टाफहरूको थोरै सङ्ख्याले एकैचोटी एकै समयमा ठुलो सङ्ख्यामा फेक फेसबुक, ट्विटर वा अन्य सामाजिक सञ्जाललाई आफ्ना विरोधीका विरुद्ध प्रयोग गर्छन् । एकचोटी चारैतिरबाट विरोधको बाढी नै आएजस्तै अनुभूति हुन्छ ।
यही वर्षको नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले यही ट्रोलसेनाको प्रयोग गरेर निर्वाचनलाई आफ्ना पक्षमा प्रभावित पार्नसक्ने सम्भावनालाई ध्यानमा राखेर अमेरिकाको एउटा ट्विटर कम्पनीले ट्रम्पको ट्विटबारे सत्य तथ्य जाँच गर्नेसमेत बताएको छ । त्यसका साथै आफ्ना प्रयोगकर्तालाई गलत समाचार सम्पे्रषणबाट सर्तक रहनसमेत सार्वजनिक अपिल नै जारी गर्नुपरेको छ । यसबाट यो अनुमान लगाउन गाह«ो पर्दैन कि अमेरिकाको राजनीतिमा ट्रोलिङ गर्ने कार्यले कति व्यापकता पाएको छ । त्यसले अमेरिकाको राजनीतिमा भ्रमको पहाड नै खडा गर्ने गर्दछ । सर्वसाधारणलाई के ठिक, के बेठिक भनेर छुट्याउन मुश्किल पर्ने गर्दछ ।
बर्माका बौद्धमार्गीको आफ्नो निजी फेसबुक पेज छ । बर्मामा अल्पसङख्यक र रोहिङ्ग्या मुसलमानमाथि दमनका लागि बौद्धमार्गीको यो फेसबुक पेजले जातीय दङ्गा भड्काउनमा लगातार भूमिका खेल्ने गर्दछ, जसको परिणाम बर्मामा जातीय दङ्गामा एक महिनामा नै ६,७०० रोहिङ्ग्या मुसलमान मारिएका थिए । लाखौँ विस्थापित भएका थिए । बर्मामा भएको यो जातीय नरसंहारको अध्ययन–अनुसन्धान गरेको संयुक्त राष्ट्र सङ्घको अनुसन्धान टोलीले बौद्धमार्गीद्वारा सञ्चालित फेसबुकलाई ‘राक्षस’ को सङ्ज्ञा दिएका थिए ।
बिबिसीले ‘बियोन्ड फेक न्युज’ अन्तर्गत गरेको एउटा अनुसन्धानले भारतमा बढ्दो हिन्दू अतिवादका पछाडि तिनीहरूद्वारा सञ्चालित फेसबुक र ट्विटरको मुख्य भूमिका रहेको र हिन्दुत्वको भावना बढाउन फैलाइने झुटा समाचारका कतिपय श्रोत ट्विटर तथा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक सञ्जालमा खप्टिएको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । योबाट प्रष्ट हुन्छ कि अरू जातिप्रति घृणा फैलाउन सामाजिक सञ्जालको व्यापक प्रयोगकर्तामा मोदी आफै सम्मिलित छन् ।
अमेरिका तथा फ्रान्सको निर्वाचनमा रुसले सञ्चालन गर्ने सामाजिक सञ्जालले व्यापक प्रभाव पार्ने गरेको छ । सामाजिक सञ्जालका विज्ञका अनुसार नकारात्मक विषय फैलाउने तत्त्व सामाजिक सञ्जालको क्षेत्रमा बढी सङ्गठित देखिन्छन् ।
उपर्युक्त केही उदाहरणबाट प्रष्ट हुन्छ कि फेसबुक, ट्विटर वा सामाजिक सञ्जालको दुरूपयोग कसरी हुने गरेको छ ? सामाजिक सञ्जालको यसरी दुरूपयोग गरेर आफ्ना विरोधीमाथि मिथ्या आरोप लगाएर बद्नाम गर्ने, जातीय घृणा फैलाउने र अन्धराष्ट्रवादको पक्षपोषण गर्ने गरिन्छ । यो बद्नाम साम्राज्यवादी प्रचारशैलीलाई नेकपा (मसाल) द्वारा निष्कासित र पार्टीमा अहिलेसम्म लुक्न सफल घुसपैठियाले प्रयोग गर्ने प्रयत्न गरिरहेको पाइन्छ ।
विभिन्न नक्कली फेसबुक एकाउन्ट खोलेर छद्म वा खुल्ला नामबाट पार्टी वा पार्टीका प्रमुख नेतासहित अन्य नेतामाथि मिथ्या आरोप लगाएर बद्नाम गर्ने, जनमानसमा पार्टी तथा प्रमुख नेतृत्वप्रति घृणा फैलाउने काममा तल्लीन छन् । उनीहरूले प्रयोग गरिरहेको ट्रम्प वा मोदीको बद्नाम साम्राज्यवादी प्रचारशैलीले पार्टीका कैयौँ समर्थक, शुभचिन्तक र आम सर्वसाधारणलाई यदाकदा प्रभावित पार्ने गरेको छ ।
यस प्रकारको साम्राज्यवादी प्रचारका लागि ठुला जनशक्तिको आवश्कता पर्दैन । एक/दुई जनाले पनि कैयौँ नामबाट नक्कली फेसबुक एकाउन्ट प्रयोग गरेर भ्रम सिर्जना गर्न मिथ्या आरोप लगाउन सक्दछन् । तर अर्को कुरा पनि सत्य हो कि मिथ्या आरोप लगाएर विरोधी जनमत सिर्जना गर्ने कोशिस गरे पनि त्यो क्षणिक मात्र हुने छ । आखिर उनीहरूले फैलाइरहेको भ्रम पनि प्रोक्सी वारमा अपनाउने प्रोपोगन्डाको एउटा रूप हो । यस्तो प्रकारको प्रचारशैलीले मान्छेलाई केही समयका लागि दिग्भ्रमित पार्ने गर्दछ ।
जस्तै– गत साल भारत र पाकिस्तानका बिच सामान्य प्रकारको सैन्य झड्प भएको थियो । भारतले यसलाई स्ट्राइक एट्याकको नाम दिएको थियो । सोझै पाकिस्तानी सेनाको ब्यारेकमा आक्रमण गर्ने भारतीय उद्देश्य रहेको दाबी गरिएको थियो । भारतले पाकिस्तानमाथि आक्रमण गरेर सयौँ पाकिस्तानी सेना मारिएको व्यापक प्रचार गरिएको थियो । तर घटनास्थलमा अन्तर्राष्ट्रिय सञ्चार संस्था गएर निरीक्षण गर्दा गोलीबारीका कारण पाकिस्तानतर्फ ३/४ वटा रुख तथा केही रुखका हाँगा भाँच्चिएका वा ढलेकाबाहेक केही भेटाएनन् ।
ठिक त्यसै प्रकारले पार्टीबाट निष्कासितमध्यका केही र घुसपैठियाले सामाजिक सञ्जालमा आफ्नो अवस्था राम्रो रहेको र जनमतमा वृद्धि भइरहेको कुरा बढाइचढाइ पेस गर्ने गर्दछन् । तर यर्थाथमा जाँदा चियाको कपमा तुफान मच्चाउनुबाहेक केही छैन ।
पार्टीबाट केही व्यक्तिहरु अनिश्चितकालका लागि निश्काशित भएका थिए । तीमध्यका एकाधले पार्टीभित्र लुकेर बसेका घुसपैठियाको सहयोगमा ट्रोलसेनाको भूमिका पूरा गरिरहेका छन् । घुसपैठियाले छद्म नाम प्रयोग गरेर सामाजिक सञ्जालमा पार्टीका आन्तरिक निर्णय र सर्कुलर सार्वजनिक गर्ने वा पार्टीबाट निष्कासित ध्वंसात्मक चरित्र भएका व्यक्तिलाई सूचना उपलब्ध गराउने र तिनीहरू मार्फत् सार्वजनिक हुने गरेको छ । पार्टीका आन्तरिक सूचना दुश्मनसम्म पु-याए बापत् घुसपैठियाले प्रतिकृयावादीको निःशुल्क वा सःशुल्क कुन प्रकारको सेवा गरिरहेका छन् ? त्यो भविष्यले नै प्रष्ट पार्ने छ ।
पार्टीबाट निष्कासितमध्येका पनि अत्यन्तै थोरै ध्वंसात्मक चरित्र बोकेका वा घुसपैठियाले ट्रोलसेनाको रूपमा काम गरिरहेका छन । ती ट्रोलसेनाले पार्टीभित्र कमरेड मोहनविक्रम सिंह कमजोर परेको, उहाँको पक्षमा चापलुसी गर्ने वा विभिन्न कारणले कारबाहीमा पर्ने डर भएका नेता मात्र आफ्नो स्वार्थका कारण महामन्त्रीको पक्षमा हुनेबाहेक अरू कोही पनि नभएको भ्रम छर्ने असफल प्रयत्न गरिरहेका छन । निश्चित रूपले आज सिङ्गो पार्टी कमरेड मोहनविक्रम सिंहको नेतृत्वमा एकताबद्ध छ । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको क्रान्तिकारी लाइनलाई कार्यान्वयन गर्न सिङ्गो पार्टी कटिबद्ध हुनुका साथै क्रियाशील छ । महाधिवेशन भएको एक वर्षको मात्र समीक्षा गर्ने हो भने यो वर्ष पार्टीका लागि सङ्घर्षको वर्ष बन्न पुगेको छ ।
राष्ट्रियताको रक्षा, जनतन्त्र, जनजीविका, भ्रष्टाचार तथा सङ्घीयताका विरुद्ध लगातार पार्टीले एकल तथा संयुक्त रूपमा सङ्घर्षको मोर्चामा छ । बन्दाबन्दीको अवस्थामा एकातर्फ जनसेवा अर्कोतर्फ, तत्कालीन विषयलाई लिएर सङ्घर्षको मैदान छोडेको छैन । पार्टीको सङ्गठन विस्तारका साथै सैद्धान्तिक स्तरमाथि उठाउन लगातार प्रकाशनमा ध्यान दिनुका साथै विभिन्न स्तरका प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन ।
तर ट्रोलसेनाले यी कुनै पनि काम गर्नु पर्दैन । देशको वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई कुनै सहयोग पु-याउनु पर्दैन, बरु मिथ्या आरोप लगाएर पार्टीका विरुद्ध बढीसेबढी भ्रमको खेती गरिरहेका छन् । पार्टीका आन्तरिक सूचना दुश्मनसम्म पु-याउन सकेकोमा गर्वको अनुभूति गर्दछन ।
पार्टीभित्र लुकेर बसेका घुसपैठिया र निष्कासित आफैमा बद्नाम साम्राज्यवादी प्रचारशैलीका बाहक भएकाले उनीहरूबाट स्वस्थ खालको राजनीतिक बहसको अपेक्षा पनि गर्न सकिँदैन । जुन बहसले कम्तीमा पनि देशको वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ बौद्धिक खुराक प्रदान गर्न सकोस् । उनीहरूले कमरेड मोहनविक्रमका निराधार वैयक्तिक विषय उठाएर आक्षेप लगाउनु वा आलोचना गर्नुलाई वैचारिक सङ्घर्षको जामा ओढाउने गरेका छन् ।
गालीगलौजको सहारा लिएर आफ्नो सैद्धान्तिक तथा राजनीतिक कमजोरीलाई लुकाउने प्रयास गर्नु बद्नाम राजनीतिक दिवालियापनबाहेक केही होइन । कथित वैचारिक सङ्घर्षको आवरणमा यी तत्त्वहरूले वुर्जुवा राजनीतिले समेत अस्वीकार गरेको चरित्रहत्याको तहसम्म गिरेर अपराधिक कार्यलाई प्रोत्साहन दिइरहेको कुराको सबैले हेक्का राखेका छन । कमरेड मोहनविक्रम, उहाँको पत्नी तथा पार्टीमा विभिन्न स्तरमा कार्यरत कामरेडउपर गालीगलौज गर्नु, निराधार आरोप लगाएर चरित्रहत्या गर्नु कुनै वैचारिक सङ्घर्ष नभएर अपराधिक कार्यको श्रेणीभित्र पर्दछ ।
कतिपय लेखमा बारम्बार यो कुरा पनि उठाउने गरिएको छ कि कमरेड आनन्द शर्मा पार्टीको नेतृत्व गर्नयोग्य छैनन् । किनभने उहाँको शैक्षिक योग्यता कम छ । नेकपा (मसाल) मा लेखेपढेका वा लेखकको खडेरी देख्नेहरूको स्तर देखेर दया लागेर आउँछ । हुन त गालीगलौजले फेसबुक वा सामाजिक सञ्जालका भित्ता भर्नेहरूलाई त्यसो गर्नुलाई विद्वता ठानेका हुन सक्दछन् । ती गालीगलौज गर्नमा महारथ प्राप्त विद्वानले एकचोटी बोल्सेभिक कम्युनिस्ट पार्टीको इतिहास हेर्नु आवश्यक छ । बोल्सेभिक कम्युनिस्ट पार्टीका कुल सदस्य सङ्ख्याको झण्डै ९८ प्रतिशतभन्दा पनि बढी सदस्य सङ्ख्या मजदुर वर्गबाट आएको पाइन्छ । स्वयम् स्टालिन र माओको औपचारिक शिक्षा पनि त्यति धेरै माथि थिएन ।
नेपालको विद्यमान सामाजिक–आर्थिक अवस्थानुसार कम्युनिस्ट पार्टीका सदस्यको वर्गीय श्रोत किसान र मजदुर वर्ग नै हो । तर वर्गसङ्घर्षको बिचबाट तिनै मजदुर, किसान तथा उत्पीडित वर्गबाट आएका सदस्य माथिल्लोस्तरका नेता, लेखक, प्रशासक तथा कलाकारलगायतका रूपमा आफूलाई विकास गरेको विश्व इतिहास पाइन्छ । नेपालको राजनीतिक आन्दोलन पनि त्यस प्रकारका कैयौँ उदाहरणले भरिएको छ । त्यो कुरा कामरेड आनन्द शर्माको हकमा समेत लागु हुन्छ ।
पार्टीभित्र वा बाहिरबाट आउने विचारलाई हमेशा नेकपा (मसाल) ले गम्भीरतापूर्वक लिने गरेको इतिहास र परम्परा रहिआएको छ । कम्युनिस्ट आन्दोलनभित्र मात्र होइन, त्यसका साथै वुर्जुवा आन्दोलनभित्र उठान हुने वैचारिक विषयलाई समेत उपेक्षा गरिएको छैन । अहिले पनि जोसुकैले उठाउने वैचारिक प्रश्नलाई हामीले स्वागत गर्दछौँ । उठाइएका वैचारिक प्रश्न देश जनता वा क्रान्तिका पक्षमा तिनको उपयोगिता, आवश्यकता तथा औचित्यका आधारमा छलफल गर्न वैचारिक सङ्घर्षबाट हामी पछि हट्ने प्रश्न नै आउँदैन । तर वैचारिक सङ्घर्षको नाममा ट्रोलसेनाले अगाडि बढाएको गालीगलौज र चरित्रहत्याको राजनीतिले तपाईहरूको अपराधिक मनोवृत्तिलाई सबैको अगाडि छताछुल्ल बनाइदिएको छ । त्यसको हेक्का रहोस् ।
२०७७ जेष्ठ १५ गते

