काठमाडौँ । सिरहाका एक वडाअध्यक्षले एक लाख रुपैयाँमा भारतीयलाई नागिरकता दिलाएकाे पाइएको छ ।
सिरहा क्षेत्र नम्बर २ का सांसद राजकिशोर यादवले मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नै क्षेत्रका वडाअध्यक्षले घुस लिएर भारतीयलाई नागरिकता दिलाएको भन्ने आरोप लगाएपछि यो विषय चर्चामा आएको छ ।
सिरहाको नरहा गाउँपालिका–३ का वडाअध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त थिए । उनले नागरिकता लिन वडाअध्यक्ष अन्सारीलाई एक लाख रुपैयाँ घुस दिएको सांसद यादवको भनाई थियो ।
सांसद यादवले भने, ‘‘मुस्ताक भारतीय हुनुहुन्छ भनी म पहिल्यैदेखि चिन्थेँ, सीडीओ कार्यालयबाट नागरिकता बनाएर निस्किँदा नै मलाई शंका लागेको थियो,’ इनुसले भने, ‘अनि मलाई उहाँले नै वडाअध्यक्षलाई एक लाख भारु दिएर नागरिकता सिफारिस गर्दिएको बताउनुभयो।’
मोस्ताक मियाँले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए। नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गर्न लगाएका विभिन्न उजुरीमा उल्लेख छ
वडाध्यक्ष अन्सारीको सिफारिसमा मोस्ताक मियाँले नागरिकता लिएको भन्दै नरहा–३ के इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका छन्। तर हालसम्म यसबारे कुनै प्रक्रिया बढाइएको छैन।
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले आजनको संसद्मा नागरिकता खरिद–बिक्री गर्ने काम सत्ता पक्षबाट भएको आरोप लगाए। वडाअध्यक्ष अन्सारी एमालेका हुन्।
यता, मोस्ताकका आमाबुबा बनेका अमानत मियाँ र रजिना खातुनले पनि आफूले मोस्ताकलाई नचिनेको बताएका। अमानतले भने, ‘मोस्ताक को हुन् हामी चिन्दैनौँ, वडा कार्यालयमा आफ्नो कामका लागि गएको वेला अध्यक्षज्युले यसमा हस्ताक्षर गर्दिनु भन्नुभयो, मैले केही खोजखबर नगरी हस्ताक्षर गरेँ। पछि थाह पाएँ, नागरिकता बनाएको रहेछ।’