प्रकाश छन्त्याल, बरेङबजार (बागलुङ) ।
अखिल नेपाल युवक सङ्घ जिल्ला समिति बागलुङको आयोजनामा २०८१ फागुन २७ गते मङ्गलबार बरेङ बजारमा सिठी जुलुस सम्पन्न भएको छ ।
युवक सङ्घ बागलुङका सचिव दुर्गा थापाको नेतृत्वमा राष्ट्रिय जनमोर्चाको सङ्घयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनको तयारीस्वरूप सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै युवक सङ्घ बागलुङका सदस्य तुफान पुनले सरकार सुस्तश्रवण बनेर बसिरहेको, आफ्नो सरकार टिकाउन अनेक जालझेल गर्दै आइरहेको सरकारलाई सिठी फुकेर ध्यानकेन्द्रित गरिएको बताउनुभयो ।
उहाँले आफ्नै वंशनाश भएपछि राजा भएका र फेरि राजा बन्न खोज्ने व्यर्थको सपना नदेख्न प्रतिगामीलाई चेतावनी दिनुभयो ।
पुनले हजारौ नेपालीले बलिदान दिएर लिएको गणतन्त्रमा राजा पुनः फर्कने कुरामा कुनै तुक नभएको दाबीसमेत गर्नुभयो ।
प्रतिगामी खतरा तथा सङ्घीयता खारेजीको लागी गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने भन्दै पुनले काठमाडौँकेन्द्रित चैत २४ देखि चैत ३० गतेसम्म सञ्चालन हुने आन्दोलनलाई सफल पार्न आह्वानसमेत गर्नुभयो ।
युवक संघ बागलुङले जिल्लाका १० ओटै स्थानीय तहमा सिठी जुलुस गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।





