पोखरा । पोखराका एक व्यक्तिले बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको खुलेको छ ।
पोखराको न्यूरोडमा शर्मा आइटी हब नामक पसल सञ्चालन गर्ने रमेश शर्मा लोहारले बिमा रकम दाबीको लागि आफ्नै पसलमा आगो लगाएको प्रहरीले दाबी गरेको छ ।
कास्की प्रहरीका अनुसार यही फागुन १६ गते साँझ सवा ७ बजेतिर पसलमा एक्कासी आगो लागेको थियो । आगलागीपछि तत्काल प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो निभाएका थिए ।
आगलागीपछि पर्सा जिल्ला जगरनाथपुर ३ स्थायी घर भइ हाल पोखरा २७, तालचोक बस्ने २८ वर्षीय लोहारले फागुन २७ गते ९४ लाख रुपैयाँ क्षति भएको दाबीसहित वडा प्रहरी कार्यालय बैदाममा जाहेरी दिएका थिए ।
उनी लेखनाथको तालचोकमा विगत ५ वर्षदेखि शर्मा आइटी नामक पसल चलाउँदै आएका उनको दाबी शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी कास्कीका प्रवक्ता वसन्त शर्माका अनुसार आगलागी भएको पसल दुई दिन अघिदेखि बन्द रहेको र भएका दुई जना कामदार पनि त्यो दिन बिदामा बसेकाले शंका बढेको थियो । ब्लक र टिनको टहरामा रहेको पसल गएको पुसबाटमात्र संचालनमा ल्याइएको थियो भने उनी मासिक ३५ हजार रुपैयाँ भाडा तिर्थे ।
पसल संचालन गर्नुअघि उनले शिखर इन्स्योरेन्स कम्पनीमार्फत् एक करोडको बीमा गरेका थिए । प्रहरीलाई जाहेरी दिएको पर्सीपल्ट अर्थात् फागुन १९ गते निज शर्माले इन्स्योरेन्स कम्पनीमा ‘मोवाइल चार्जमा राखी ट्वाइलेट गएर फर्कदा केही पड्किएको आवाज आएको र त्यसपछि आगलागी भएको’ व्यहोरा उल्लेख गरी बीमा रकम दाबी गरेका थिए ।
लगत्तै प्रहरीले आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान गर्दा बीमा रकम दाबी गर्न आफैंले आगो लगाएको अनुमानका साथ उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।