काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले रिङ्कु सदाको परिवारलाई क्षतिपूर्ति दिनमा माग गर्नुभएको छ ।
२०८१ फागुन २५ गते आइतबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले सो माग गर्नुभएको हो ।
‘दलितमाथिको यस्तो उत्पीडनलाई प्राथमिकतामा राखेर सरकारले कारबाही अगाडि बढाओस्’ उहाँले भन्नुभयो–’छिटोभन्दा छिटो ती अपराधीलाई पक्रेर पीडितलाई न्याय दिलाइयोस् र क्षतिपूर्ति दिलाउन म माग गर्दछु ।’
मन्तव्यको क्रममा उहाँले देशमा दलित उत्पीडनसित सम्बन्धित घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सँगै उहाँले ती घटनाका अपराधीलाई पक्रिन सरकारले तदारुकता नदेखाएको वा जिम्मेवार नदेखिएको भन्दै सरकारको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो–’ती घटनामा जति तदारुकता साथ जिम्मेवारीपूर्ण तरिकाले एक्सन लिनुपर्ने थियो, त्यो भइरहेको छैन ।’
सांसद विश्वकर्माले रिङ्कु सदाको बलात्कारपछि भएको हत्याको सन्दर्भलाई आत्महत्याको रूप दिन खोजिएको उल्लेख गर्नुभयो ।
सदाका हत्यारा अझैसम्म फरार रहेको तथा मुख्य अभियुक्त अझै नसमातिएको पनि उहाँको ठहर थियो ।