मोहनविक्रम सिंह ##
(मैले कामरेड जलजला उपन्यासको दार्शनिक पक्षबारे एउटा बेग्लै पुस्तक लेख्ने विचार गरेको छु तर त्यसका लागि मलाई करिब एक वर्षको समय लाग्नेछ । लगातार त्यो पुस्तकमा लाग्नु त सम्भव हुनेछैन । मैले बिचबिचमा समय निकालेर त्यो काममा लाग्नुपर्नेछ । त्यसो गर्दा त्यो पुस्तकका लागि एक वर्षभन्दा बढी समय लाग्न सक्दछ । त्यसैले तत्काल मैले त्यो उपन्याससित सम्बन्धित विभिन्न पक्षबारे एक हप्तामा एउटा टिप्पणी विचार गरेको छु । ती टिप्पणी क्रमबद्ध प्रकारले भन्दा पनि बिचबिचमा उपन्याससित सम्बन्धित बेग्लाबेग्लै विषयमा लेखिनेछन् । यात्रा वा अन्य व्यस्तताका कारणले कुनै हप्तामा त्यो टिप्पणी लेख्न छुट्न पनि सक्नेछ । जे होस्, मैले त्यो क्रममा निरन्तरता दिने प्रयत्न गर्नेछु । त्यही सिलसिलामा यस अङ्कमा मैले अमेजनको जङ्गलबारे पहिलो टिप्पणी लेख्दैछु ।)
कामरेड जलजला उपन्यासमा केही वास्तविक पात्र छन् भने ठुलो सङ्ख्यामा काल्पनिक पात्र पनि छन् । कुनै उपन्यास इतिहास, आत्मकथा वा जीवनी हुँदैन । उपन्यास उपन्यास नै हुन्छ र त्यसैले, त्यसमा कल्पनाको पनि ठुलो अंश हुन्छ । यहाँसम्म कि त्यसमा उल्लेख गरिएका वास्तविक पात्रको चित्रमा पनि कल्पनाको ठुलो अंश हुन्छ । त्यही कुरा जलजलाबारे पनि सत्य हो ।
जलजला वास्तविक पात्र हुन् । काठमाडौँको बत्तिसपुतलीमा जन्मेकी र चितवनको तोरी खेतमा हुर्केकी तर प्रस्तुत उपन्यासकी जलजलाको चित्रणमा पनि कल्पनाको ठुलो अंश समावेश गरिएको छ । त्यही सन्दर्भमा उपन्यासको आवरणको अन्तिम पृष्ठमा प्राक्कथनमा लेखिएको यो
भनाइलाई उद्धृत गरिएको छ : “उनी वास्तविकताको जगमा उभिएर नै धेरै माथि उठ्ने छिन्, धेरै… धेरै… धेरै माथि आकाशसम्म अन्तरिक्षसम्म । आकाशमा कहाँसम्म । त्यसको कुनै सीमा छैन । त्यो अनन्त छ । असीम छ… ।” प्रस्तुत उपन्यासमा जलजलाबारे त्यस्तै हुन्छ ।
उनी पृथ्वीबाट धेरै माथि उठ्दै जान्छिन् र चन्द्रमामा पुग्छिन् । त्यसपछि उनले पूरै सौर्यमण्डलको परिक्रमा गर्दछिन् । सौर्यमण्डलपछि उनी दुधपथ (मिल्कीवे), तारामण्डल त्यसपछि अरू कैयौँ विशालतम तारामण्डल, ब्ल्याकहोल, सम्पूर्ण विश्व, कतिपय अज्ञात विश्व हुँदै पृथ्वीतिर फर्किन्छिन् । पृथ्वीतिर फर्किंदा उनले संसारका कैयौँ महासागर, महाद्वीप वा संसारका विभिन्न प्राकृतिक दृश्यको परिक्रमा गर्दै पृथ्वीतिर झर्दछिन् । त्यो क्रममा उनी दक्षिण अमेरिकाको र संसारको पनि सबैभन्दा ठुलो अमेजनको जङ्गलमा पुग्दछिन् ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– पृथ्वी छिटोछिटो घुमिरहेको थियो । उनका आँखाअगाडि पृथ्वीका बेग्लाबेग्लै दृश्य आउँदैजाँदै गरिरहेका थिए । उनका आँखाका अगाडि अकस्मात् एउटा ठुलो जङ्गलको दृश्य आयो । त्यो अमेजनको जङ्गल थियो । त्यो उत्तरी अमेरिकामा पर्दथ्यो । त्यो जङ्गलका सीमा नौ देशसित जोडिएका थिए† जस्तै कि ब्राजिल, पेरू, कोलम्बिया, बोलिभिया, भेनेजुएला, फ्रेन्च, गुहवा आदि ।
त्यो विशाल जङ्गल देखेर उनी धेरै आश्चर्यचकित भइन् । त्यहाँ हजारौँ प्रकारका जीवजन्तु वा जनावर थिए । हजारौँ प्रकारका रुखवृक्ष थिए । उनले देखिन्, त्यहाँ केही आदिवासी मानिस पनि थिए । उनीहरूको जीवनपद्धति एकदम प्राचीन प्रकारको थियो । उनीहरूको जीवनमा आधुनिकताको कुनै असर परेको देखिँदैनथ्यो ।

उनलाई यो देखेर लाग्यो, त्यहाँ सयकडौँको सङ्ख्यामा जमिनमा बनेका विभिन्न आकारका आकृति पनि देखिन्थे । त्यो जङ्गलमा केही आदिवासी पनि देखिन्थे अनि ती आकृति कसले बनाएको थियो ? त्यो अत्यन्त आश्चर्यको कुरा थियो ।
उनलाई लाग्यो, सायद त्यहाँ पहिले कुनै सभ्य जातिको बस्ती थियो । उनीहरूले नै ती आकृतिको निर्माण गरेको हुन सक्दथ्यो । प्राचीनकालमा कैयौँ सभ्यता नष्ट भएका उदाहरण इतिहासकारले पत्ता लगाएका थिए† जस्तै कि मध्यअमेरिकाको माया सभ्यता, सिन्धु घाँटीको सभ्यता, बेबिलोन र मेसोपोटामियाको सभ्यता आदि । अमेजनमा पनि त्यही प्रकारको कुनै सभ्यता रहेको र पछि त्यो सभ्यता समाप्त भएर त्यो पूरै क्षेत्र जङ्गलले ढाकिएको हुन सक्दथ्यो अन्यथा त्यहाँ त्यस प्रकारका विशाल आकृतिको निर्माण कसरी हुन सक्यो ?
वास्तवमा अमेजनको जङ्गल संसारको नै सबैभन्दा ठुलो जङ्गल मात्र होइन, त्यो संसारको नै एउटा अद्भुत जङ्गल पनि हो । त्यसभित्र कैयौँ रहस्य रहेका छन्, जसलाई मानव जातिले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् यद्यपि त्यो दिशातिर अन्वेषकको प्रयत्न लगातार जारी छ । त्यस सन्दर्भमा सबैभन्दा महŒवपूर्ण प्रश्न यो हो– जहाँ अहिले त्यो जङ्गल छ, त्यहाँ पहिले उच्चस्तरको मानव सभ्यताको अस्तित्व थियो । अध्ययन–अनुसन्धानद्वारा त्यो कुरा प्रकट भइरहेको छ कि त्यहाँ पहिले उच्च प्रकारको सभ्यता थियो । पुरानो जमानाका कैयौँ नयाँ नयाँ भग्नावेश पत्ता लाग्दै गइरहेका छन् ।
इतिहासबाट प्राचीनकालका कैयौँ सभ्यता लुप्त हुँदै गएको कुरा थाहा हुन्छ । त्यस प्रकारका लुप्त सभ्यतामा माया सभ्यता, सिन्धुघाटीको सभ्यता, बेबिलोन र मेसोपोटामियाको सभ्यता आदि थिए । कहीँ त्यही प्रकारले अमेजनमा पनि कुनै महान् सभ्यता विद्यमान ता थिएन ? अहिलेसम्म पत्ता लाग्दै गएका त्यहाँका भग्नावशेषबाट त्यो कुराको अनुमान गर्न गाह्रो पर्दैनथ्यो, अमेजनको विशाल भूभागमा फैलिएको त्यस प्रकारको सभ्यता कसरी नष्ट भएर गएको थियो । त्यहाँको मानव बस्ती कसरी नष्ट भएको थियो ? त्यहाँका मानिस कहाँ गएका थिए वा कसरी नष्ट भएका थिए ? इतिहास त्यसबारे मौन छ ।
अमेजनको भूभागमा उच्च प्रकारको मानव सभ्यता भएको कुरा ता अब थाहा हुँदै जान थालेको छ तर त्यहाँका मानिस कहाँ गए र त्यहाँ कसरी मानव बस्तीको अन्त्य भयो । त्यसबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन । मानिसका बिचको आपसको कुनै युद्ध, प्राकृतिक प्रकोप, महामारी वा अन्य कुनै कारणले अमेजनको मानव बस्तीको अन्त्य भएको थियो ? जुनसुकै कारणले त्यस्तो भएको भए पनि त्यो अत्यन्त दुःखद कुरा थियो ।
अमेजनको जङ्गलको जुन अतीत हो, त्यो अहिलेको सम्पूर्ण मानव जातिको भविष्य पनि हुन सक्दछ । इतिहासमा कैयौँ मानव जाति नष्ट भएका उदाहरण पाइन्छन् । त्यो क्रममा अहिलेको मानव जाति पनि नष्ट हुने त होइन ? कुनै प्राकृतिक प्रकोप, आकाशबाट खस्ने कुनै पिण्ड, युद्ध वा अहिले बनेका आणविक हतियारका कारणले अहिलेको सम्पूर्ण मानव जाति नष्ट हुने त होइन ? पृथ्वीमा करोडौँ वर्षसम्म प्रभुत्व जमाएको डायनासोर प्राणीको समूल नष्ट भएको इतिहास पनि हाम्राअगाडि छ तर हाम्रो मानव जाति अस्तित्वमा आएको त त्योभन्दा धेरै कम समय भएको छ । त्यही प्रकारले अहिलेको मानव जातिको अस्तित्व पनि समाप्त हुने त होइन ? त्यसरी अमेजन जङ्गलको अतीत हाम्रो भविष्य हुने त होइन ? त्यो सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न ।
अमेजनको जङ्गल करिब साढे पचास लाख वर्ग किमिमा फैलिएको छ । त्यो युरोपियन युनियनभन्दा ठुलो र भारतभन्दा डेढ गुणाभन्दा बढी ठुलो छ । अस्ट्रेलिया महाद्वीपभन्दा केही मात्र सानो छ । त्यति ठुलो आकारको जङ्गल देखेर सुनन्दा धेरै नै आश्चर्यचकित भइन् । त्यति ठुलो भूभागमा वा त्यस्तो ठुलो भागमा बसेको मानव बस्ती कसरी नष्ट भएको होला ?
उनको मनमा यो कुरा पनि खेल्न थाल्यो– के त्यहाँको जङ्गलमा पुनः मानव बस्ती बस्नु सम्भव होला ? लुम्बिनी र कपिलवस्तुको सभ्यता पनि
लामो समयसम्म जङ्गलले ढाकिएर लुप्त भएको थियो तर त्यो पछि प्रकाशमा आएको थियो र पुनः त्यहाँ मानव बस्ती बसेको छ । के अमेजनको जङ्गलमा पनि कुनै दिन त्यस्तो सम्भावना होला ? त्यस्तो भयो भने त्यो संसारको नै एउटा महान् देश हुनेछ ।
त्यो प्रश्नसित जोडिएको अर्को गम्भीर प्रश्न पनि छ । त्यो जङ्गलले विश्वमा करिब २० प्रतिशत अक्सिजन प्रदान गर्दछ । त्यसरी त्यसलाई एक प्रकारले विश्वको फोक्सो पनि भन्ने गरिन्छ तर त्यहाँको जङ्गल समाप्त भएर त्यहाँ पुनः मानव बस्ती बस्यो भने त्यो जङ्गलबाट मानव जातिलाई ठुलो पैमानामा जुन अक्सिजन मिलिरहेको छ र त्यसमा ह्रास हुनेछ । त्यसबाट मानव जातिलाई ठुलो क्षति पुग्नेछ ।
त्यो जङ्गलको उत्पत्तिको करोडौँ वर्षको इतिहास थियो । पहिले त्यहाँ डायनासोरजस्ता भीमकाय प्राणीको बसोबास थियो । उनीहरूको संसारमा करोडौँ वर्षसम्म प्रभुत्व थियो तर सायद अन्तरिक्षबाट आएको कुनै पिण्डका कारणले संसारभरि आगो र धुलो उडेर ती प्राणी नष्ट भएका थिए वा अन्य कुनै प्राकृतिक कारणले उनीहरूबाट नष्ट भएका थिए । उनीहरू शाकाहारी थिए र उनीहरूले बिरुवालाई सानैमा खाएर नष्ट गर्दथे । त्यसैले त्यहाँ जङ्गल हुन पाउँदैनथ्यो । डाइनोसरहरू समाप्त भएपछि त्यहाँ जङ्गलको विकास भयो ।
अमेजनको जङ्गल अत्यन्त रहस्यमय छ । त्यसको ठुलो भागमा के र कस्तो छ ? त्यो कुरा अझै थाहा हुन सकेको छैन । कैयौँ मानिसको यो पनि अनुमान छ कि त्यहाँ अहिले पनि डायनोसरको अस्तित्व हुन सक्दछ ।
डायनोसरका कारणले साना जीव जमिनमुनि प्वाल पारेर बस्दथे । कुनै प्राकृतिक कारणले डाइनोसोरहरू नष्ट भए पनि जमिनभित्र बस्ने ती साना प्राणी नष्ट भएनन् र उनीहरूका बिचबाट नै पछि अन्य जनावर र मानिसको समेत उत्पत्ति हुँदै गयो । त्यसरी डायनोसको विनाश मानव जातिको उत्पत्तिको पनि कारण बन्यो ।
जलजलाले केही बेरसम्म अमेजनको जङ्गलको अवलोकन गरिन् र त्यसपछि उनी पृथ्वीको अरू परिक्रमा गर्ने काममा लागिन् ।
२०८१ फागुन २३ गते

