केरसिंह अदै, तौलिहवा ।
अखिल नेपाल महिला सङ्घ कपिलवस्तुले एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय महिला दिवस शिवराज नगरपालिकाको खरेन्द्रपुरमा मनाएको छ ।
अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुनको प्रमुख आतिथ्यमा २०८१ फागुन २४ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै पुनले श्रमिक महिलाको महान् त्याग, सङ्घर्षबाट हकअधिकार पाएको बताउँदै तर त्यो अधिकार पूर्ण नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो–’यो सीमित प्रकारको हकअधिकारलाई पनि सही प्रकारले सदुपयोग गर्न नसकिएको, घरेलु हिंसा, अन्धविश्वास, रूढिवादी संस्कृतिबाट महिलाहरू माथि उठ्नुपर्दछ ।’
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले तात्कालिक राजनीतिक परिस्थितिबारेमा बोल्दै सङ्घीयताका कारण महँगी, करवृद्धि, बेरोजगार बढ्दै गइरहेको परिस्थितिमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेज गर्न काठमाडौँकेन्द्रित आन्दोलन चलाउन लागेको बताउनुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, महिला सङ्घकी सविता खनाल, राजमो कपिलवस्तुका सल्लाहकार चेतनारायण खनाल र पत्रकार नवराज पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।
महिला सङ्घकी जिल्ला अध्यक्ष शारदा खनालको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन अस्मिता विकले र स्वागत महिला सङ्घ कपिलवस्तुकी सहसचिव बिनिता अदैले गर्नु भएको थियो ।
कार्यक्रममा रक्तिमका कलाकारले स्वागत गीत प्रस्तुत गरेका थिए ।
