टेकराज भुसाल, सन्धिखर्क ।
एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय महिला दिवस अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका वडा नम्बर २ ढाकाबाङमा विविध कार्यक्रम गरी मनाइएको छ ।
२०८१ फागुन २४ गते तदनुसार मार्च ८, २०२५ शनिबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
भूमिकास्थान नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले महिलामाथि हुने हिंसा दुर्व्यवहार नियन्त्रण र महिलाको अधिकार सुनिश्चित गर्नका लागि भूमिकास्थान नगरपालिका प्रतिबद्ध भएको बताउँदै राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने बताउनुभयो ।

वडाध्यक्ष थापाले महिलाका सबै खाले अधिकार तथा संविधानले प्रत्याभूत गरेको अधिकार प्राप्तिका लागि महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले महिलाहरू सक्रिय नभएकै कारण घरपरिवार, समाजदेखि राष्ट्रियस्तरसम्म विभेद खेप्नुपरेको वर्तमान अवस्थालाई औँल्याउँदै आफ्नो अधिकारप्राप्तिका लागि महिला आफै एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समयमा राज्यले अवलम्बन गरेको नीतिले महिलालाई माग र आवश्यकताअनुरूप अधिकार प्रत्यायोजन गरेको कुरा प्रष्ट्याउँदै उक्त अधिकार प्राप्तिका लागि महिलाहरू आफै मूल धारमा आउन आग्रहसमेत गर्नुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य तीर्था बेलबासे, ढाकाबाङ प्रहरी चौकी इन्चार्ज मानबहादुर थापाले बोल्दै महिलालाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबाट पूर्ण रूपमा सम्पन्न नगराएसम्म महिलाका अधिकार सुनिश्चित गर्न नसकिने उल्लेख गर्नुभएको थियो।
कार्यपालिका सदस्य केशरा परियारको अध्यक्षता, वडासदस्य नारायणप्रसाद खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपस्थित महिलाबिच घैँटाफोर प्रतियोगिता पनि गरिएको थियो ।
प्रतियोगितामा ४७ जना सहभागीमध्ये १२ जनाले खेल जितेका थिए । विजेतालाई वडाध्यक्ष थापाले नगद पुरस्कारले सम्मान गर्नुभएको थियो ।
