काठमाडौँ । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साथपछि यी अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका हुन्।
राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन्। अध्यादेश बहुमतबाट स्वीकृत गर्न उनीहरूको साथ सरकारलाई आवश्यक थियो।
जसपा नेपालको असहमतिपछि भूमिसम्बन्धी अध्यादेश भने निर्णयार्थ पेस हुनबाट रोकिएको छ।
यी पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकबाट पनि पारित भइसकेको छ। सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो। तर राष्ट्रिय सभामा बहुमत प्रष्ट नहुँदा अध्यादेश निर्णयार्थ अघि बढ्न ढिलाइ भएको थियो।