काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने अन्तिम तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषदबाटै पुनः तीनदिने स्पष्टीकरण सोधेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि मन्त्रालयबाट सोधिएकामा अहिले मन्त्रिपरिषद्को बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय भएको हो।
यसअघि ऊर्जा मन्त्रालयले कुलमानसँग पाँचपटक विवरण माग गर्ने र स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । कुलमानलाई हटाउने प्रयासमा रहेका ऊर्जामन्त्री दीपक खड्काले विभिन्न समिति र आयोग बनाएर पनि उनीमाथि छानबिन गर्न खोजेका थिए।
ती कुनै पनि छानबिन र स्पष्टीकरणका आधारमा कुलमानलाई हटाउन नसकेपछि मन्त्रालयले मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने प्रस्ताव अघि बढाएको थियो।
कुलमानलाई पदबाट हटाउनकै लागि कार्यसम्पादन मूल्यांकनमा मन्त्रालयले शून्य अंक दिएको छ।
बुधबार नै कुलमानले एक कार्यक्रममा आफू जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम समयसम्म काममा खटिरहने बताएका थिए।
मन्त्रिपरिषद्मा गएको प्रस्तावबारे जानकार रहेका उनले बुटवलको एक कार्यक्रममा भनेका थिए, ‘हामी सबैले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिराछौँ। राष्ट्रिय जिम्मेवारी लिएर काम गर्दाखेरी जतिसुकै स्पष्टीकरण खानुपरेपनि एक घण्टा भएपनि काम गर्ने ताकत, ल्याकत राख्नुपर्छ।’





