काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
परिवारका सदस्यले दिएको आत्महत्या दुरुत्साहनको किटानी जाहेरीका आधारमा कास्की प्रहरीले इन्स्पेक्टर विवेकलाई पक्राउ गरेको हो ।
विवेक सन्तोषीभन्दा एक व्याच सिनियर हुन् । उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
सन्तोषी सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
२३ नं. गण तनहुँमा कार्यरत इन्स्पेक्टर जोशीलाई सोमबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्त शर्माले जानकारी दिए।
उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ।
इन्स्पेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन्।
सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन्।
सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन्।
जवानमै हुँदा २०७८ सालमा असई बनेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।
तर, तालिम सकेर काममा फर्किन नपाउँदै मृत भेटिएकी हुन्।