काठमाडौँ । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को उद्घाटन सभामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ झोक्किएका छन् ।
सोमबारदेखि झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट माओवादीले सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ को सभामा श्रेष्ठ रिसाएर मञ्चबाटै बाहिरिएका हुन् ।
श्रेष्ठले मञ्चमा बोल्नेक्रममा सञ्चालक नजिकै उभिएपछि श्रेष्ठ झोक्किएका थिए । त्यसपछि उनी पोडियम बजार्दै नबोलीकन मञ्चबाट बाहिरिए ।
नजिकै उभिएका सञ्चालकतर्फ हेर्दै श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभा हो? हो? हो भने जान्छु।’
सञ्चालक (माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य अग्नि) ‘होइन’ भन्दै पछाडी जान्छन् ।
तर, श्रेष्ठले ‘अनि के त यहाँ टुक्क आएर बसेको?’ भन्दै पछाडि फर्केर सोध्छन्, ‘म बिदा हुँ?’
कोही व्यक्ति हाँसेको सुनिन्छ।
रिसाएका श्रेष्ठ माइक समातेर भन्छन्, ‘समयको चाप एकदम धेरै छ। म थोरै कुरा भन्न चाहन्थेँ शायद। सञ्चालक। कार्यक्रमलाई धेरै चाप भयो होला म बिदा हुन्छु। लालसलाम ।’
यति भन्दै श्रेष्ठ बाहिरिन्छन् ।
श्रेष्ठ रिसाएर बाहिरिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषयमा समीक्षा गर्ने बताए ।
प्रचण्डले भने्, ‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो। उद्घाोषक कमरेड…। मेरो त ध्यान जनतातिर थियो। म तपाइँहरूतिर हेरिराखेको थिएँ। वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा तपाइँहरूले बडो ध्यान दिएको मैले महसुस गरेको थिएँ। अग्निजी (सञ्चालक) यहाँ आउनुभएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो। यसमा अलिकति आत्मसमीक्षा गरेर मेरो गल्ती भए म क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्यांकन, समीक्षा त गरौँला। तर, फेरि यो ठूलो कुरा होइन। हामी समीक्षा गर्छौं र कहिँ त्रुटी रहेछ भने रियलाइज चाहिँ गर्छौं।
माओवादी केन्द्रले सोमबारदेखि झापाबाट ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको हो। यो अभियान पश्चिम कञ्चनपुर पुगेर समापन गर्ने जनाइएको छ ।
विद्यालय बन्द गर्न दबाब
यता, माओवादीले अभियानका क्रममा सभा हुने ठाउँका विद्यालय बन्द गर्न दबाब दिएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकामा मङ्लबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदूषण हुने भन्दै त्यहाँका निजी विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रम स्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् ।
उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत् जनसभा हुने उल्लेख छ ।
उक्त जनसभाका कारण सवारी साधन अत्यधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ । जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदूषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौँ’ भन्दै पत्र पठाएर दबाब दिइएको हो ।
यस्तै, पालिकामा नै विद्यालय बन्द गर्न सहजीकरण तथा परिपत्र गरिदिन भन्ने ब्यहोराको पत्र कानेपोखरी गाउँपालिकामा समेत पठाएको छ । माओवादीले कानेपोखरी–रङ्गेली हुलाकी सडक नै अवरुद्ध हुने गरी सभा स्थल निर्माण गरेको छ ।
