विराटनगर । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।
पाथीभरा क्षेत्रको डडेले भन्ने ठाउँमा क्षमा पूजाको लागि भन्दै जम्मा भएका नो केबलकार समूहका व्यक्तिहरू पूजा सकेर फर्किने क्रममा डडेले नजिकै झडप भएको हो । केबलकारको संरचना बनाएको ठाउँ नजिकै रहेको सशस्त्रको क्याम्प तर्फ गएर ढुङ्गा प्रहार गर्न थालेपछि झडप भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् ।
उनका अनुसार दोहोरो झडपमा १३ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र ६ जना आन्दोलनकारीतर्फ एकजना घाइते भएका छन् ।
झडप भएपछि घाइतेको उद्धारको लागि पठाएको गाडीमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् । बिरामीहरूको उद्धारको लागि पुगेको मे १ ज २५८९ नम्बरको गाडीमा पूर्ण रूपमा क्षति पुर्याएको सहायक प्रजिअ खड्काले जानकारी दिइन् । उक्त गाडी पत्रकारको भएको भएको पनि जनाइएको छ ।
आन्दोलनकारीले सशस्त्र र नेपाल प्रहरीको सुरक्षा सामाग्रीहरूमा समेत क्षति पुगेको छ । अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले आधा दर्जन भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको छ ।
केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार समूह निर्माण स्थलतर्फ जाँदै गर्दा त्यस अवस्थामा झडप भएको थियो । क्षमा पूजा गरेर फर्किएका केबलकार निर्माण स्थलमा रहेका निर्माण सामग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको प्रशासनको भनाइ छ ।
क्षमा पूजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्रसिंह थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरू त्यहाँ पुगेको प्रशासनले जनाएको छ।
भाषण सकिएपछि सुरक्षा निकायले राखेको घेरा तोडेर ढुङ्गा, मुढा हानेपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम दाहालले अहिले अवस्था सामान्य अवस्थामा पुगिसकेको जानकारी दिए ।