• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘प्रवेश निषेध’ कथासङ्ग्रहबारे सामान्य चर्चा


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    भुँडीपुराण प्रकाशनले प्रगतिशील साहित्यकार प्रकाश थापामगरको ‘प्रवेश निषेध’ शीर्षकको १५ ओटा कथासङ्ग्रह पुस्तक प्रकाशन गरेको रहेछ । यो कुरा सम्पूर्ण साहित्यानुरागी र विशेषतः प्रगतिशील साहित्य क्षेत्रका लागि खुसीको विषय हो । नेपाली साहित्य जगत्मा नयाँ कोशेली थपिएको छ । मैले यो कथासङ्ग्रहलाई समालोचकीय दृष्टिकोणबाट हेर्नेभन्दा पनि प्राथमिक प्रतिक्रियाको रूपमा आफ्नो विचार प्रस्तुत गरेको छु । प्रकाश थापामगरको यस कथासङ्ग्रहप्रति मेरा केही प्राथमिक प्रतिक्रिया यस प्रकार छन् :

    १. प्रकाश थापामगरसँग मेरो परिचय भएको झन्डै अढाइ दशकभन्दा बढी समय हुन थालेको छ । उहाँले सुरुदेखि नै लेखन, अध्ययन र प्रकाशनलाई महत्त्व दिँदै आउनुभएको छ । लेखन, अध्ययन र प्रकाशनलाई महत्त्व दिने स्वभावका कारण नै योभन्दा अगाडि उहाँका तीनओटा फरक फरक विधाका गहन कृति प्रकाशन भइसकेका छन् । ‘प्रवेश निषेध’ कथासङ्ग्रहको लेखन तथा प्रकाशनका लागि प्रकाश थापामगरलाई साधुवाद छ । त्यसका साथै अध्ययन, लेखन तथा प्रकाशनको क्षेत्रमा उहाँको थप सफलता तथा उत्तरोत्तर प्रगतिको कामना छ ।

    २. ‘प्रवेश निषेध’ कथासङ्ग्रह कृतिभित्र ‘प्रवेश निषेध’, ‘मैती’, ‘फनक्क नाचेको बालक’, ‘नरमती’, ‘भीमबहादुरको बिस हजार’, ‘उत्तरे साहु’, ‘ग्रिल पसल’, ‘मासुको एक छाक’, ‘जङ्गेकी आमा’, ‘महिला सिट’, ‘रामकली’, ‘ट्याक्सी चालक’, ‘इन्द्रबहादुर’, ‘खुसी’ र ‘मामाकी छोरी’ गरी १५ ओटा कथा समेटिएका छन् । यी १५ ओटा कथामध्ये तीनओटा कथा विभिन्न पत्रपत्रिकामा पहिले नै प्रकाशित भइसकेका र बाँकी १२ ओटा नयाँ कथा समावेश गरिएका रहेछन् । कथाहरू सबै यथार्थमाथि आधारित रहेका छन् ।

    ३. नेपालमा कथासाहित्यको इतिहास धेरै लामो छ । गुरुप्रसाद मैनालीको “नासो” शीर्षकको कथाको प्रकाशनबाट नेपाली कथा साहित्यको आधुनिक इतिहासको सुरुआत भएको थियो । प्रगतिशील साहित्यको इतिहासको सुरुआत २००६ सालमा रमेश विकलले लेखेको “गरिब” कथाको प्रकाशनबाट भएको पाइन्छ । २००६ सालदेखि सङ्कलित प्रगतिशील साहित्यको भण्डारमा प्रकाश थापामगरको प्रवेश निषेध कथासङ्ग्रहले इँटा थप्ने काम गरेको छ ।

    साहित्यिक विधाहरूमा सबैभन्दा लोकप्रिय विधा कथालाई मानिन्छ । लघुकथाभन्दा ठुलो र उपन्यासभन्दा सानो आख्यानात्मक रचनालाई कथा भनिन्छ । कथा एकबसाइमा पढेर सिध्याउन सकिने भएको हुनाले यो सबैभन्दा बढी लोकप्रिय विधा पनि मानिन्छ । त्यसैले कथाकार प्रकाश थापामगरको कथासङ्ग्रह निकै रोचक, आकर्षक र आफू स्वयम्ले प्रत्यक्ष भोगेका घटनामाथि आधारित भएको अनुभूति हुन्छ । त्यसैले एकबसाइँमा नै सम्पूर्ण कथा पढेर रसास्वादन गर्न सकिने खालको छ ।

    कथानिर्माणका लागि आवश्यक पर्ने तत्त्वहरूको सवालमा नेपाली र पश्चिमा साहित्यकारका बिचमा आधारभूत सवालमा समानता भए पनि कतिपय विषयमा मतभेद पनि पाइन्छ । कथानिर्माणका लागि कथावस्तु, कथानक, पात्र/चरित्र, कथा परिवेश, दृष्टिविन्दु, भाषाशैली, बिम्बप्रतीक, संवाद, कथाको उद्देश्यजस्ता तत्त्व आवश्यक पर्दछन् । कथाका लागि आवश्यक पर्ने यी तत्त्वलाई एकआपसमा जोड्दै कुशलतापूर्वक कथाको सृजना भएको छ ।

    ४. कथाकार प्रकाश थापामगरको सम्पूर्ण कथा हेर्दा आम जनताले भोगिरहेका समस्यालाई विषयवस्तु बनाइएको छ । कोरोना महामारीका कारण आफ्नो मुलुक फर्किन चाहेकाले आफ्नो देशभित्र पिसिआर रिपोर्ट नभएकै कारण प्रवेश गर्न नपाएको दुखद घटना, रोजीरोटीको खोजीमा भारतको कानपुर भौतारिएका गुल्मीका प्रवासी मजदुर वर्षौंसम्म घर नआउँदा दलित परिवारले ब्यहोरेका अभाव र दुःख, मधेसमा भएको विकराल गरिबीका कारण पढ्नेलेख्ने सानै उमेरका बालबालिका बालश्रममा धकेलिनुपर्ने बाध्यता, एउटा मजदुरले मजदुरी गरेर घरव्यवहार चलाउन देखा परेको सकस (‘भीमबहादुरको बिस हजार’ र ‘ट्याक्सी चालक’ शीर्षकका कथा), अनुपस्थित भूमालिकको खेतमा काम गरेबापत जुनसुकै अवस्थामा पनि मालिकलाई रकम तिर्नुपर्ने बाध्यतामा बाँचिरहेको किसान वर्ग, कोरोना महामारीका कारण भएको बन्दाबन्दी (लकडाउन) ले आम मजदुरको दैनिकीमा परेको गम्भीर असर, मधेसी समुदायमा व्याप्त डरलाग्दो दाइजो प्रथा र गरिबीका कारण आफ्नै सुत्केरी पत्नी र नवजात छोरीलाई अस्पतालको बेडमा अलपत्र छोडेर हिँड्ने मधेसी युवाको प्रवृत्ति, सन्तान नजन्मिनुमा महिलालाई दोषी देख्ने नेपाली समाजको मनोविज्ञान, अन्तरजातीय प्रेम तथा विवाहलगायतका घटनालाई आधार बनाएर कथावस्तुको रचना गरिएको छ ।

    ५. १५ ओटा कथामा उल्लेख भएका पात्रहरू प्रवासी मजदुर, दलित, मगर परिवारका सदस्य, मधेसी, महिला र बालक, बच्चा जन्मिन नसकेको दोषको भागी बनाइएकी महिला, अरूको भलाइका लागि काम गर्दा खुसी अनुभूति गर्ने सुनिताजस्ता पात्र रहेका छन् अर्थात् कथाकारले मजदुर, किसान, मधेसी, महिला, बालक, दलित, जनजातिजस्ता आधारभूत वर्गका साथै बालश्रम गर्न बाध्य मधेसी बालक, समाजसेवामा समर्पित व्यक्तिलाई कथाको पात्र बनाउनुबाट लेखकको मजदुर, किसान, महिला, दलित वर्ग तथा मधेशी समुदायका साथै समाजको सेवामा सकारात्मक योगदान दिने व्यक्तिप्रतिको आफ्नो पक्षधरता स्पष्ट रूपमा कथामार्फत् देखाउनुभएको छ ।

    कथाकारले कथा लेख्नुका पछाडि समाजमा ब्याप्त अन्धविश्वास, भेदभाव, शोषण, अन्याय, अत्याचार, नेपालबाट कामको खोजीमा विश्वका विभिन्न मुलुकमा पुगेका प्रवासी नेपालीप्रतिको सरकारको गैरजिम्मेवार रवैया, दाइजो प्रथाका कारण महिलाले भोगिरहेको नारकीय जीवन, जमिन्दारले किसानमाथि गर्ने शोषणलाई कथाकारले जस्ताको त्यस्तै यथार्थ रूपमा समाजको अगाडि कथा प्रस्तुत गर्नुभएको छ ।

    कथाकारले समाजका भुइँतहका नागरिकले पाइरहेको दुःखकष्ट, अन्याय, अत्याचारको वर्णन गर्नुका साथै कथाकार स्वयम् व्यावहारिक रूपले पनि जनताको मुक्तिका खातिर सङ्घर्ष गरिरहनु भएको छ । त्यसैले मार्क्सको महान् शिक्षा “संसारको व्याख्या सबैले गरेका छन्, मूल कुरा यसलाई परिवर्तन गर्नु हो” लाई आफ्नो जीवनदर्शनमा समेत लागु गर्नुभएको छ । कथामा एकातिर समाजका भुइँतहका व्यक्तिप्रति उहाँले पक्षधरता लिनुभएको छ भने त्यसैगरी किसानमाथि अत्याचार गर्ने उत्तरे साहु, छोरी जन्मेका कारण आफ्नो सुत्केरी श्रीमती र नवजात शिशुलाई अस्पतालको बेडमा अलपत्र छोडेर भाग्ने केशनारायणलगायतका मधेसी युवा, आफ्नो मुलुकको जनताप्रति गैरजिम्मेवार नेपालको सरकार, बच्चा नजन्मेका कारण आफ्नै श्रीमती ठुलीलाई दोष दिने उनका सासूससुरा र श्रीमान्, सार्वजनिक यातायातमा महिलाका लागि छुट्याइएको आरक्षित सिट छोड्न नचाहने कथित सहरिया भलादमीप्रति कथाकारले कथामार्फत् घृणा तथा आक्रोश पनि व्यक्त गर्नुभएको छ ।

    ६. कथाकारका सबै कथाले अहिलेको समाजको यथार्थ अवस्थाको बकपत्र गरेको छ । स्वयम् कथाकारले पनि ‘प्रवेश निषेध’ कथासङ्ग्रहको लेखकीयमा “समाजमा जे भइरहेको छ, जे हुने गरेको छ, तिनै सामाजिक यथार्थको आख्यानात्मक प्रतिनिधित्व यो सङ्ग्रहमा रहेको” कुरा स्वीकार गर्नुभएको छ । उहाँको उक्त कथनमा सत्यता छ । कथा भनेको त्यस्तो रचना हो, जसमा मानवजीवनको सम्पूर्ण तथा बृहत् रूप देखाउनु सम्भव हुन्न । कथाले जीवनको कुनै एउटा पक्ष वा त्यसको अंशका बारेमा मात्र प्रकाश पार्न सक्दछ । त्यसका बाबजुद पनि कथाकार प्रकाश थापामगरले भुइँपात्रको कथावस्तु चयन गरेर समाजमा जे भइरहेको छ, जे हुने गरेको छ त्यसलाई प्रस्तुत गर्नुभएको छ । त्यो हदसम्म ठिक छ । त्यसले प्रगतिशील दिशालाई नै समातेको छ तर त्यसका साथै के हुनुपर्दथ्यो भन्ने कुरा पनि उद्घाटित गर्न सक्नुभएको भए “सुनमा सुगन्ध” हुने थियो । यो विषयमा स्वयम् विश्वप्रसिद्ध मार्क्सवादी साहित्यकार म्याक्सिम गोर्कीले एउटा सन्दर्भमा कथाको बारेमा आफ्नो धारणा राख्दै भनेका छन्– कथा भनेको मनुष्यको जीवनको गति र अनुभूतिको सशक्त उज्ज्यालो पक्षको आस्थापूर्ण उद्घाटन हो । कथाले मनुष्य जीवनको गति र अनुभूति जे छ, जस्तो छ, त्यो प्रस्तुत गर्नुका साथै मनुष्य जीवनको गति र अनुभूतिको सशक्त उज्यालो पक्षको पनि उद्घाटन गर्नु हो अर्थात् मनुष्य जीवनको गति र अनुभूतिको सशक्त उज्ज्यालो पक्ष भन्नुको तात्पर्य अहिले मजदुर, किसानले व्यहोरिरहेका अन्याय, अत्याचार, शोषणको अन्त्य भएर शोषणविहीन समाजमा बाँच्न पाउने अधिकार त्यसको उज्ज्यालो पक्ष हो ।

    ७. कथाकार प्रकाश थापामगरका सबै सङ्गृहीत कथाको भाषाशैली कठिन नभएर अत्यन्तै सरल र बुझिने खालको छ । जति पढ्यो उत्ति नै मज्जा लाग्ने खालको छ ।

    ८. कथाका तत्त्वमध्ये कथावस्तु र पात्रपछि परिवेशको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । कथामा घटना र पात्रको आधार नै परिवेश हो । परिवेश भन्नुको तात्पर्य घटना घट्ने र पात्रले कार्यव्यापार गर्ने ठाउँ, समय र वातावरण वा देश, काल परिस्थिति भन्न सकिन्छ । कथाकार प्रकाश थापामगरले कथासङ्ग्रह को लेखकीयमा २०७७ सालको सेरोफेरोमा ‘प्रवेश निषेध’ कथासङ्ग्रहका सम्मिलित १५ ओटा कथा लेखेको बताउनुभएको छ ।

    २०७७ सालको सेरोफेरामा नेपालसहित विश्व कोरोना महामारीको चपेटामा थियो । तत्कालीन अवस्थामा २०७६ सालको चैत १५ गते मुलुकमा बन्दाबन्दीको घोषणा गरिएको थियो । कोरोना महामारीले सर्वसाधारणको जनजीवन निकै कष्टकर बनाएको थियो । त्यसको प्रभाव कथासङ्ग्रहमा पनि अभिव्यक्त भएको छ । ‘प्रवेश निषेध’, ‘ग्रिलको पसल’ र ‘ट्याक्सी चालक’ कथामा प्रष्टै कोरोना महामारीले सर्वसाधारणको दैनिकीमा पारेको असरलाई बढो मार्मिक ढङ्गबाट कथामार्फत् उतार्ने प्रयास गरिएको छ । मुलुकमा सामन्ती राजतन्त्रको अन्त्य भएको छ तर सामन्तवादी शोषणका अवशेष कायम नै छ । त्यही सामन्ती शोषणको परिवेशलाई समेटेर कथाको निर्माण गरिएको छ ।

    कथामा पर्वत जिल्लाको पश्चिम भेगको एउटा गाउँ पाल्पा र गुल्मीका स्थानीय गाउँ, काठमाडौँका विभिन्न स्थान चाबहिल, कलङ्की, बालुवाखानी, आकाशेधारा, बालाजु, भारतका कतिपय स्थानलगायतका स्थानको परिवेश पाइन्छ ।

    ९. कथाले हाम्रो समाजको यथार्थको प्रतिनिधित्व गरेको छ । कथाहरू मन छुने खालका छन् । कथाहरूको घटनापरिवेशअन्तर्गत पर्ने सामाजिक स्थानगतलगायतका पक्ष पनि मिलेकै छन् । तैपनि कथामा केही कुराको सामञ्जस्यता नमिलेको अनुभूति हुन्छ; जस्तै : ‘प्रवेश निषेध’ कथामा कोरोना महामारी कालमा नेपाल आउन खोज्दा सीमानाकामा पिसिआर रिपोर्ट नभएकै कारण आफ्नो मुलुकभित्र प्रवेश नपाएको उल्लेख छ । मीनबहादुर र उनको परिवारलाई आफ्नो मुलुकमा प्रवेश निषेधको अवस्था व्यहोर्नुपरेको घटना निश्चित रूपले दुःखदायी नै मान्नुपर्दछ तर तथ्यमा गएर हेर्दा यो घटना केही अस्वाभाविकजस्तो प्रतित हुन्छ ।

    कोरोना महामारीको सुरुआती कालमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार संसारका सबै मुलुकले आफ्नो सीमा बन्द गरेका थिए । कोरोनाका कारण नोकरी गुमेपछि भोकभोकै मुग्लान बस्नुभन्दा आफ्नै मुलुक फर्किनुपर्ने अवस्था आएका कारण ठुलो सङ्ख्यामा नेपालीहरू नेपाल फर्किन खोजे तर नेपालको सीमा बन्द गरिएका कारण भारतले नेपालतिर नेपालीलाई आउन दिइएन । सीमा पुगेका नेपालीलाई सरकारले पनि फर्काउने अपराध गरेको थियो, जसको परिणाम कैयौँले लुकिछिपी अवैध बाटो प्रयोग गरेर देशभित्र छिर्ने कोसिस गरेका थियो । कतिपयले महाकाली नदी तरेर नेपाल छिर्न खोज्दा नदीमा बगेर प्राण नै गुमाए तर सीमा खुलेपछि प्रत्येक सीमानाकामा स्वास्थ्य टिम नै खटाइएको थियो । पिसिआर रिपोर्ट नभएकालाई आरडिटी चेक गरेर कोरोना सङ्क्रमण देखिएको व्यक्तिको हकमा उनकै गाउँमा पुऱ्याई गाउँगाउँमा खोलिएका आइसोलेसन क्याम्प (एकान्तबास) मा राखेर मात्रै घर पठाउने गरिन्थ्यो । प्रत्येक पालिकाले सीमानाकामा सवारी साधन पठाएर आआफ्ना पालिकाका नागरिकलाई घर ल्याउने व्यवस्था मिलाएका थिए ।

    २०८१ फागुन २ गते, काठमाडौँ

    शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.