बेलबारी, (मोरङ) । वित्तीय क्षेत्रमा नयाँ नयाँ योजना र कार्यक्रमहरू ल्याइरहने लक्ष्मी सनराइज बैङ्क, बेलबारी शाखाले रु. १५ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।
बैङ्कले ‘सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
कक्षा आठसम्मका छात्रामध्ये गरिब तथा जेहेनदार विद्यार्थीलाई प्रदान गरिने उक्त छात्रवृत्ति रकम बैङ्कका बेलबारी शाखा व्यवस्थापक नवराज बस्नेतले बेलबारी नगरपालिका–०१, मोरङमा वि.सं. २०५२ सालदेखि सञ्चालन हुँदै आएको सगरमाथा इङ्ग्लिस स्कुलमा कक्षा आठमा अध्ययनरत छात्रा अनिस्ता धिमाललाई प्रदान गरेका हुन् । धिमाल समुदाय बेलबारीमा बसोबास गर्ने पहिलो जाति हो ।
उक्त अवसरमा स्कुलका प्रिन्सिपल इरानकुमार राईले अनिस्ता धिमाल स्वयंले पनि आफ्नो पढाइ–लेखाइ, अनुशासन र सिर्जनशीलतामा थप वृद्धि गर्न र अन्य विद्यार्थीहरूले पनि असल र उत्कृष्ट भए आफू पनि पुरस्कृत हुँदै गइने प्रेरणा लिनुपर्ने बताए ।
उक्त छात्रवृत्ति रकम स्कुलको बिहानी सभामा प्रदान गरिएको थियो ।