बुटवल । अखिल नेपाल किसान महासङ्घ (अप्फा) को चौथो राष्ट्रिय भेला भैरवराज रेग्मीलाई पुनः अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
२०८१ माघ २७ गते अध्यक्ष रेग्मीद्वारा जारी प्रेसविज्ञप्तिका अनुसार माघ २५ गते रुपन्देहीको बुटवलमा सो भेला सम्पन्न भएको छ ।
भेलाले महासचिवमा तुलसीराम सापकोटा, कोषाध्यक्षमा केबी घलेसहित १७ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहितको २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनको विवरण समेटिएको उक्त विज्ञप्तिमा भेलाले पाँच बुँदे विशेष प्रस्ताव पारित गरेको उल्लेख छ ।

यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“अखिल नेपाल किसान महासङ्घ (अप्फा) को चौथो राष्ट्रिय भेला २०८१ माघ २५ गते रुपन्देही जिल्लाको बुटवलमा भव्यतापूर्वक सम्पन्न भयो ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षतामा अगाडि बढेको भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गमलामा पानी हालेर गर्नुभयो ।
अतिथिको आसन ग्रहणपछि केन्द्रीय उपाध्यक्ष शिव पौडेलले स्वागत मन्तव्य तथा सहिदको सम्मानमा एक मिनट मौनधारण व्यक्त गरियो ।
भेलालाई विभिन्न भाइचारा सङ्गठनका प्रतिनिधिले शुभकामना दिनुभयो । शुभकामना दिनेहरूमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष टीकाराम पौडेल, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, अखिल (छैठौं) का केन्द्रीय सदस्य माधव विश्वकर्मा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य मिलन पोखरेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य हरिबहादुर राहाडी, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य क्षितिजा राहाडी र युगदर्शन डट कमका शङ्कर पोखरेल हुनुहुन्थ्यो ।
अध्यक्ष भैरवराज रेग्मीले उद्घाटन सत्र समापन गर्नुभएपछि उपाध्यक्ष शिव पौडेल, केन्द्रीय सदस्य केबी घले र सावित्रा रेग्मीसहितको अध्यक्षमण्डलको गठनसँगै बन्दसत्र सुरु भएको थियो ।
बन्दसत्रमा अध्यक्ष रेग्मी साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । व्यापक छलफलपछि सो प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।
महासचिव तुलसीराम सापकोटाले घोषणापत्रमाथिको संशोधन प्रस्तुत गर्नुभयो । व्यापक छलफलपछि हाउसबाट आएका सुझाव पारित गर्ने गरी घोषणापत्र पारित भयो ।
कोषाध्यक्ष प्रेमनारायण आचार्यले विधानमाथिको संशोधन प्रस्तुत गर्नुभयो । विधान पनि व्यापक छलफलपछि प्राप्त सुझाव समेट्ने गरी सर्वसम्मतिमा पारित भयो ।
बन्दसत्रमा रक्तिम सांस्कृतिक अभियानका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
तत्पश्चात् प्रेमनारायण आचार्य, बद्रे आलम र टानबहादुर केसीसहितको तीन सदस्यीय निर्वाचन समितिले नयाँ केन्द्रीय समितिको प्यानल प्रस्तुत भयो । छलफलपछि सो प्यानल पारित भएको छ ।

केन्द्रीय समिति यस प्रकार रहेको छ : अध्यक्ष भैरवराज रेग्मी (चितवन), उपाध्यक्ष शिवप्रसाद पौडेल (कपिलवस्तु), महासचिव तुलसीराम सापकोटा (बाँके), सचिव वीरबहादुर जिसी (प्युठान), कोषाध्यक्ष केबी घले (काठमाडौँ), सदस्यहरू ध्रुव थापा (प्युठान), रुकबहादुर पराजुली (रुपन्देही), सावित्रा रेग्मी (चितवन), ओमेन्द्र कुँवर (गुल्मी), गोपाल पौडेल (बागलुङ), चन्द्र सापकोटा (नवलपुर), हेमराज पौडेल (बारा), रामप्रसाद भुसाल (काठमाडौँ), राजकुमार चौधरी (कञ्चनपुर), भीमलाल आचार्य (अर्घाखाँची), विष्णु आचार्य (दाङ) र राजेन्द्र गैरे (स्याङ्जा) ।
वैकल्पिक सदस्य दीप गोले (रौतहट), प्रेम ठाडा (सुर्खेत), प्रकाश खनाल (कपिलवस्तु), देवनाथ योगी (डडेलधुरा) ।
सल्लाहकार चन्द्रबहादुर केसी (स्याङ्जा), गणेश गौतम (रुपन्देही), नीलगोविन्द महर्जन (ललितपुर), विष्णु पौडेल (चितवन), दावा लामा (सिन्धुपाल्चोक) ।
राष्ट्रिय भेलाले विभिन्न विषयमा विशेष प्रस्ताव पारित गरेको छ । विशेष प्रस्ताव यस प्रकार रहेको छ ?
१. राष्ट्रिय जनमोर्चाको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनलाई सक्रिय सहभागितासहित सफल बनाउने ।
२. अध्यादेशमार्फत ल्याइएको भूमिसम्बन्धी संशोधन ऐन (अहिले संसद् अधिवेशनको सूचीमा सामेल गरिएको) सुकुम्बासी, सुकुम्बासी किसान र अव्यवस्थित बसोबासी किसानको पक्षमा नरहेकोले अर्थात् हदबन्दीभन्दा बढी जग्गालाई सरकारीकरण गर्नुपर्नेमा निजलाई नै विक्री गर्न पाउने व्यवस्थाजस्ता प्रावधान राखिएकाले यो प्रस्तावित संशोधन ऐन खारेज गरी वास्तविक भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउने गरेर कानुन संशोधन गर्न माग गर्दछ ।
३. ६ वामपन्थी किसान सङ्गठनको माग पूरा गराउन संयुक्त आन्दोलन सञ्चालनको लागि तयारी गर्ने निर्णय गर्दछ ।
४. किसान सङ्गठनलाई किसानको समस्याको आधारमा सङ्गठित गर्ने र किसानको वर्गसङ्घर्षको आधारमा विकास गर्दै लैजाने निर्णय गर्दछ ।
५. किसानको उत्पादन र बजारीकरण (वितरण) का लागि कृषिसहकारीको माध्यमबाट किसानलाई सङ्गठित गर्ने निर्णय गर्दछ ।
अन्तमा भव्यताका साथ चौथो राष्ट्रिय भेला सम्पन्न भएको घोषणा गर्दै भेला समापन गरिएको छ ।”