दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले सङ्घीयता नेपालका राजनीतिक दलको एजेन्डा नभएको बताउनुभएको छ ।
राजमो दाङले २०८१ माघ २५ गते शुक्रबार आयोजना गरेको “सङ्घीयताद्वारा उत्पन्न सङ्कट र त्यसका विरुद्धको राजधानीकेन्द्रित आन्दोलनको प्रश्न” अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘नेपालका राजनीतिक दलको आन्दोलनले होइन, भारतीय योजनामा भएको मधेसवादी आन्दोलनको बलमा सङ्घीयताले प्रवेश पाएको हो ।’
यसअघि अवधारणापत्र प्रस्तुत गर्दै उहाँले नेपाल सङ्घीयतामा जानुपर्ने कुनै आधार र कारण नभएको तथा विश्वव्यापी अभ्यास र सिद्धान्तका हिसाबले पनि नेपालको अवस्था ठिक उल्टो भएको उहाँको धारणा थियो ।
‘नेपालमा अभिशाप सिद्ध भइसकेको सङ्घीयता अब खारेज गर्नुको विकल्प नभएको हुनाले पार्टीले राजधानीकेन्द्रित आन्दोलन तय गरेको हो’ उहाँले भन्नुभयो ।
कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का उपाध्यक्ष तथा जिल्ला बार एकाइ उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का नेता मिनु सुवेदी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य लालध्वज पुन, नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य यमप्रसाद अधिकारी, प्रतिरोध अभियानका संयोजक प्रमोद धिताल, प्रगतिशील प्राध्यापक सङ्घ दाङका अध्यक्ष नवराज सुवेदी र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ध्रुव गहतराले पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समितिका सदस्य मेघराज भट्टराईले र सञ्चालन सचिव बसन्त पौडेलले गर्नुभएको थियो ।
