काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अधिकारप्राप्तिका लागि किसान समुदाय एकजुट हुनुपर्ने बताउनुभएको छ ।
‘आफ्नो अधिकार प्राप्त गर्नका लागि किसान समुदायले अरू समुदायसित मिलेर आन्दोलन गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।
सरकारले किसानको समस्या नसुनेकाले किसानहरू पलायन हुनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।
किसान समुदायको समस्या समाधान गर्नका लागि फजुल खर्च कटौती गर्न सङ्घीयता खारेज गर्नुपर्ने धारणा उहाँको थियो ।
‘किसानका समस्या समाधान गर्नुपर्दछ’ अध्यक्ष नेपालीले भन्नुभयो– ‘प्रदेशमा हुने फजुल खर्चलाई कटौती गर्नका लागि प्रदेश संरचना खारेज गरेर किसानलाई राहत दिनुपर्दछ ।’
त्यस क्रममा राजमोको आयोजनामा चैत २४–३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित सङ्घीयता विरोधी आन्दोलनमा सबैलाई सहभागी हुन नेपालीले आग्रह गर्नुभयो ।
कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुन्डिराज शर्मा, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य शङ्कर पोखरेल, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य क्षितिजा राहाडी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य हरिबहादुर राहाडी, अखिल ९छैठौं० का केन्द्रीय सदस्य माधव विश्वकर्मा र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष तुल्सी पौडेलले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अप्फाका अध्यक्ष भैरव रेग्मीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा स्वागत उपाध्यक्ष शिव पौडेलले र सञ्चालन महासचिव तुल्सी सापकोटाले गर्नुभएको थियो ।

