खलङ्गा । राष्ट्रिय जनमोर्चाले प्युठानको स्वर्गद्वारी नगरपालिकामा सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप “सङ्घीयता र राष्ट्रियता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८१ माघ २४ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो स्वर्गद्वारी नगर समितिको आयोजनामा सम्पन्न सो सभामा मन्तव्य राख्दै उहाँले सङ्घीयता जनताका समस्या समाधान गर्ने कुनै क्रान्तिकारी व्यवस्था नभएको दाबी गर्नुभयो ।
‘पुर्खाहरूले पानी पिएर जोगाएको मुलुक सङ्घीयता कारण ध्वस्त हुन लागेको छ’ उहाँले भन्नुभयो– ॅनेपाली जनताले सङ्घीयता खारेज गरी जस्ताको तस्तै देश भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्दछ ।’

कार्यक्रम बोल्दै विशेष अतिथि नेकपा (मसाल) का लुम्बिनी प्रदेशका अध्यक्ष तिलक जिसीले नेपालको राष्ट्रियता कमजोर बनाउन भारत निरन्तर लागेको आरोप लगाउनुभयो ।
नेपालको नागरिकता नीतिदेखि सङ्घीयता भित्राउनेसम्म भारतको योजना भएको भन्दै उहाँले भारतले नेपालका देशभक्त शक्तिलाई कमजोर बनाउन लागिपरेको बताउनुभयो ।
राजमो प्युठानका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले जहानियाँ राणाशासनका विरुद्ध जनताको आन्दोलन सङ्गठित हुन नसक्दा एक सय चार टिकेजस्तै नेपालको सन्दर्भमा सङ्घीयता ठिक नहुँदानहुँदै जनताको आन्दोलन सङ्गठित हुन नसक्दा अहिलेसम्म टिकेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष टेकबहादुर भट्टराईले सङ्घीयता ल्याएर पनि जनताले पाउनुपर्ने अधिकार नपाएको भन्दै जनता सङ्घीयताप्रति सन्तुष्ट नभएको बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) प्युठानका उपसचिव हीरामणि भण्डारी, अमर क्याम्पस बाजिपुरका प्रमुख मधुसूदन अधिकारी, नेपाल कम्युनिस्ट पार्टी प्युठानका संयोजक परिवर्तन सी र क्रान्तिकारी कम्युनिस्ट पार्टी प्युठानका सचिव वीरबहादुर पुनले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नगर सचिव द्रोण रावलले, अध्यक्षता नगर अध्यक्ष गिरबहादुर गुरुङले र स्वागत नगर उपाध्यक्ष गङ्गाराम बिसीले गर्नुभएको थियो ।

