काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले सङ्घीयताको विरोधमा कोणसभा सम्पन्न गरेको छ ।
२०८१ माघ १९ गते शनिबार चाबहिल चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले गत १८ वर्षदेखि नेपाललाई सङ्घीयता बोकाइए पनि त्यो उपलब्धिविहीन भएको बताउनुभयो ।
उहाँले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता तहसनहस पार्नकै लागि सङ्घीयता ल्याइएको दाबीसमेत गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आएको बताउँदै उहाँले त्यसका उपलब्धि पनि प्राप्त भएको बताउनुभयो ।
‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विरोध गरेकै कारणले भारतको एक मधेस एक प्रदेशको नाममा नेपाललाई टुक्राउने षड्यन्त्र सफल हुन सकेन’ उहाँले भन्नुभयो ।
उहाँले सङ्घीय संरचनालाई खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
मन्तव्यको क्रममा उहाँले अखिल (छैठौं) ले सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्मका लागि आयोजित काठमाडौँकेन्द्रित आन्दोलनमा पूर्ण रूपमा सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले राजमोले राज्य पुनर्संरचनाको सन्दर्भको सन्दर्भमा अधिकार विकेन्द्रीकरणमा जोड दिए पनि त्यसप्रति बेवास्ता गरिएको बताउनुभयो ।
‘राष्ट्रिय जनमोर्चाले प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहितको अधिकार विकेन्द्रीकरणको माग गरिरह्यो’ उहाँले भन्नुभयो– ‘त्यसको सट्टा सत्तारूढ दलहरूले जाति र क्षेत्रको आधारमा सङ्घीयता लागु गरे ।’
परम्परादेखि सामाजिक सद्भाव कायम राख्दै आएका नेपाली समाजलाई जाति र क्षेत्रको आधारमा विभाजन गर्न नै सङ्घीयता ल्याइएको उहाँको भनाइ थियो ।
उहाँले निष्कर्षस्वरूप भन्नुभयो– ‘सङ्घीयता फाल्न जति ढिलो हुन्छ, त्यति देश सङ्कटमा फस्ने छ । त्यसैले नेपाली जनता अहिलेदेखि नै जागृत हुनुपर्दछ ।’

कार्यक्रमको सञ्चालन नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले र सञ्चालन राजमो काठमाडौँका सचिव छवि खनालले गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले “वर्गीय मायाले यो मन फुरुक्कै” शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेको थियो ।
