दाङ । राष्ट्रिय जनमोर्चा घोराही नगर समितिले घोराही उपमहानगर पालिकाले मालपोत र व्यावसायिक करवृद्धि गरेकोमा त्यसको निन्दा तथा भर्त्सना गरेको छ ।
उपमहानगर समितिका अध्यक्ष मनिराम खानालले २०८१ माघ १६ गते बुधबार प्रेसविज्ञप्तिमार्फत उपमहानगरले मालपोत र करवृद्धि गर्दा साथ आफ्नो पार्टीले उक्त कदमको विरोध गरेको बताउनुभयो ।
विज्ञप्तिमा भनिएको छ– “नेपालको अनावश्यक बोझको रूपमा स्थापना भएको सङ्घीयताका कारण यसरी तीनै तहका सरकार करवृद्धि गरिरहेका छन् । यो बोझबाट मुक्त हुनका लागि सङ्घीयता खारेज गर्न जरुरी छ । त्यसैले सम्पूर्ण जनतालाई सङ्घीयता विरुद्धको आन्दोलनमा सामेल हुन अपिल गर्छौं ।”
विज्ञप्तिमा अगाडि भनिएको छ– “सरकार चलाउन जनताको ढाड सेक्ने गरी करवृद्धि गर्ने हैन बरु फजुलखर्चलाई कटौती गर्दै जानुपर्छ । प्रदेशको मात्र खर्च कटौती गर्दा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने हुँदा प्रदेश खारेज गर्नुपर्ने र वृद्धि भएका सम्पूर्ण कर र मालपोत फिर्ता हुनुपर्ने, यदि फिर्ता नभए आन्दोलन गर्न बाध्य हुने जानकारी गराउँछौँ ।”