दाङ । सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न रक्तिम सांस्कृतिक अभियानले दाङको घोराहीमा सडक सांस्कृतिक अभियान सम्पन्न गरेको छ ।
घोराहीको ट्राफिक चोकबाट २०८१ माघ १२ गते शनिबार सो अभियिानको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा घोराही नगर समितिका अध्यक्ष मनिराम खनालले कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्नुभएको थियो ।
त्यस्तै, अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सेवक भट्टराई र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) दाङका सदस्य भीमकान्त पन्थीलगायतले काठमाडौँकेन्द्रित आन्दोलनबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा रक्तिम घोराही नगरका कलाकारहरूले सङ्घीयता विरुद्ध सान्दर्भिक गीत, नृत्य र अभिनय प्रस्तुत गरेका थिए । त्यस क्रममा ‘देश जान थाल्यो टुक्राटुत्रा परेर’, ‘रोकिन्न कदम हाम्रो’, ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो’, ‘सिमली छायाँमा बसी’, ‘हिउँ फुटे हिमनदी’, ‘सामन्तले नौजाल बुन्छ’ लगायतका गीत र नृत्य प्रस्तुत भएका थिए ।
कार्यक्रमलाई घोराही नगरका दाजुभाइ, दिदीबहिनी, व्यापारी तथा सडकमा हिँड्ने आम नागरिकले नियालेर हेरिरहेका थिए ।
कार्यक्रम आगामी चैत २० गतेसम्म घोराहीबजारका विभिन्न चोक र सडकमा प्रस्तुत गर्ने रक्तिम घोराही नगरका अध्यक्ष उत्सव पुनले जानकारी दिनुभयो ।