काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले ‘सङ्घीयता मेड इन नेपाल’ नभएको बताउनुभएको छ ।
२०८१ माघ ९ गते बुधबार राजमो काठमाडौँद्वारा नागार्जुन रानीवनमा आयोजित सभामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘सङ्घीयता मेड इन नेपाल होइन’ उहाँले भन्नुभयो– ‘नेपालमा सङ्घीयता या त मेड इन युरोप हो या मेड इन इन्डिया ।’
नेता शर्माले प्रष्ट्याउनुभयो– ‘सङ्घीयता नेपाली जनताको माग कहिल्यै रहेन । कुनै पनि जनआन्दोलनको माग सङ्घीयता रहने गरेको छैन । यो विदेशीको इसामा भित्राइएको हो ।’

उहाँले आफ्नो पार्टी सङ्घीयताको सन्दर्भमा सधैँ प्रष्ट रहेको दाबी गर्नुभयो ।
‘हामी सधैँ प्रष्ट रहने गरेका छौँ, अमेरिका, भारतजस्ता देशका लागि सङ्घीयता आवश्यक होला तर नेपाल, भुटान, श्रीलङ्काजस्ता देशका लागि सङ्घीयता उपयुक्त शासन प्रणाली होइन’ उहाँले भन्नुभयो ।
सङ्घीयता कार्यान्वयनको दश वर्षको साङ्केतिक समीक्षा प्रस्तुत गर्दै उहाँले यो व्यवस्था नेता पाल्नका लागि मात्रै उपयुक्त भएको बताउनुभयो ।
सङ्घीयतामा अनावश्यक खर्च गर्दा शिक्षा, स्वास्थ्य प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो– ‘सङ्घीयताका लागि बर्सेनि चार खर्ब बढी खर्च गर्दा जनता उपचार नपाएर मरिरहेका छन्; नेपाली जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन सकिरहेका छ्रैनन् र नेपाली युवा हजारौँको सङ्ख्यामा विदेशिनुपरेको छ ।’

मन्तव्यको क्रममा सङ्घीयताले जनतामा करआतङ्क सिर्जना गरेको पनि बताउनुभयो ।
‘सङ्घीयताले जनतामाथि करआतङ्क कायम गरेको छ’ उहाँले भन्नुभयो– ‘स्थिति यहाँसम्म पुगेको छ, गुन्द्रुक, निगुरो, कुखुरा, भैँसी बेच्दा पनि कर तिर्नुपर्ने अवस्था आएको छ ।’
देशका लागि आर्थिक बोझ बनेको सङ्घीयता खारेज गर्न सम्पूर्ण जनता एक हुनुपर्ने बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले राजमो सम्पूर्ण नेपाली जनतालाई राहत दिनका लागि आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन अगाडि सारेको बताउनुभयो ।
राजमो नागार्जुन नगर समितिका अध्यक्ष केबी घलेको अध्यक्षतमा अघि बढेको सो कार्यक्रमको सञ्चालन जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले तथा स्वागत राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापाले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो ।
