काठमाडौँ । अधिकांश सहयात्रीलाई छोडेर वामदेव गौतम एमालेमा फर्कन तयार भएपछि उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान अलपत्र परेको छ । बहुमत नेताहरूले वामदेवको साथ छाड्दै उक्त अभियान परित्याग गरेका छन् ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपा (नेकपा) तीन टुक्रा बनेपछि गौतमले पार्टी एकताको प्रयास गर्ने भन्दै ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ गठन गरेका थिए । गठन गरेको केही समयपछि नै युवराज सफल लगायत सो अभियानबाट अलग भए ।
पछिल्लो समय संयोजक गौतमले आफू नेकपा एमालेमा जान तयार भएको बताउनासाथ बहुमत केन्द्रीय सदस्य उनीबाट अलग भएका छन्।
गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उक्त अभियान त्यागेको घोषणा गरेका हुन्।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज पनि हुन्। उनीसँगै अभियानका कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोसी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवबाट छुट्टिँदै नयाँ यात्राको घोषणा गरेका हुन्।
योसँगै उनीहरूले विचार मिल्ने नेकपा माओवादी केन्द्रलगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन्। त्यसका लागि उनीहरूले अर्यालको संयोजकत्वमा ४ सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन्। समितिमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन्।
यसअघि वामदेवले पुस १७ गते नेकपा एकीकृत समाजवादीसँग एकताको समझदारी गरेका थिए। यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सैद्धान्तिक सहमति भइसकेको समेत बताएका थिए।
तर अहिले एकाएक वामदेवले एमालेमा मिल्ने घोषणा गरेका हुन्।