काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राई राइजर जडान गर्न सुरु गरेको छ । महानगरको बिपत् व्यवस्थापन विभागले यस कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।
कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडामा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य बिपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो ।
जोशीले भन्नुभयो– ‘यसले अग्नि नियन्त्रणमा ठुलो सहयोग गर्ने विश्वास छ ।’
उहाँका अनुसार ड्राई राइजर पाइप खनेर भित्री गल्लीमा पुऱ्याइएको छ भने ठाउँठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि ‘आउटलेट’ राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेट राखिएका छन् ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइप लाइन ड्राइ राइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेट राइजर भनिन्छ ।
ड्राई राइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएका हुन्छन् । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसले आगो नियन्त्रण गर्न गरिन्छ ।
दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्छ ।
ड्राई राइजर कसरी काम गर्छ ?
भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने पारेको संरचनालाई ड्राइ राइजर भनिन्छ । सामान्य भाषामा पाइपलाइन भनेर बुझ्दा हुन्छ तर दकमलको पानी निकै फोर्सले आउने भएकाले यो पाइप अन्य पाइपभन्दा बाक्लो हुन्छ आउटलेट पनि बलिया हुन्छन् ।
यसरी तयारी अवस्थामा राखिएको पाइपमा दमकलको पाइपको मुख (होज) जोडिन्छ । त्यसपछि मात्रै फायर फाइटिङ गरिन्छ । यस प्रकारको पाइपलाइन जडान गर्दा धेरै खर्चिलो नहुने भएकाले सहरी क्षेत्रमा प्रभावकारी हुन्छ ।