सन्धिखर्क । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले किसानका उत्पादनमाथि कर लगाउने पालिकाका निर्णयको विरोध गरेको छ ।
वैदेशिक रोजगारीका कारण जमिन बाझो राख्ने प्रचलन बढ्दै गइरहेका बेला पालिकाको सो निर्णय गलत भएको भन्दै अप्फाले विरोध गरेको हो ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको उपस्थितिमा २०८१ पुस २८ गते आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको जिल्ला अध्यक्ष जीवनारायण खनालले बताउनुभयो ।
बैठकले सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म सञ्चालन गर्न थालेको काठमाडौँकेन्द्रित आन्दोलनलाई समर्थन गर्दै अर्घाखाँचीबाट बढीभन्दा बढी सहभागिता जनाउने निर्णय भएको खनालले युगदर्शनलाई जानकारी दिनुभयो ।
आगामी माघ २५ गते बुटवलमा अप्फाको राष्ट्रिय भेला आयोजना गरिएकोमा बैठकले त्यसमा प्रतिनिधि पठाउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, अप्फाका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी घाँटीको समस्याले भरतपुर क्यान्सर अस्पतालमा उपचाररत् रहेकोमा त्यसका लागि आर्थिक सङ्कलन गर्ने निर्णय भएको पनि खनाले बताउनुभयो ।
बैठकमा महिला किसानको पनि उल्लेखनीय उपस्थिति रहेको बताइएको छ ।