बागलुङबजार । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।
नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड लगानी गरिसकेको पृष्ठभूमिमा सो घोषणा गरिएको हो ।
यसअगाडि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठका अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा तहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्यतर्फका सबै सूचक पूरा गरिएको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ । टोलटोलमा बाल क्लब गठन गर्ने, बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्नेलगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासँगै दिगोपनाका लागि रणनीतिक योजना तयारमा ध्यान गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा समेत रु ४० लाख लागतमा नगरका सामुदायिक विद्यालयको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको थियो ।
नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गर्ने छ । बालमैत्री नगरपालिका निर्माणले सामाजिक विकासलाई टेवा पु¥याउने बालमैत्री संयोजक तिलक आचार्यले जानकारी दिनुभयो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०७८, घोषणा कार्यविधि–२०७९ र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरी २०८१ साल पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो ।
बालबालिका बचाऊ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो ।