काठमाडौँ । काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमार्फत् प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको हो ।
प्रहरीले अनुसन्धान टुङग्याएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । सो सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ हिनामिना भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाले काठमाडौँ उपत्यकामा न्यूरोड, महाराजगञ्ज, स्वयम्भु, जोरपाटीसमेतमा शाखा खोली आर्थिक कारोबार गरेको थियो, जसमा पाँच हजार ६६९ जना व्यक्तिबाट जम्मा रु दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ ३८ पैसा सङ्कलन गरी उक्त रकम निक्षेपकर्तामा फिर्ता नगरी सञ्चालकले आफूखुसी अपचलन गरी सङ्गठित रूपमा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । हालसम्म ६९० जनाबाट ९३ थान जाहेरी दरखास्त प्राप्त हुन आएको प्रहरीको भनाइ छ ।
पक्राउ पुर्जी जारी भएका प्रतिवादी ४४ जनामध्ये पाँच जना पक्राउ परेका छन् । त्यसमा दुई जना परिसर, एक जना कारागार र दुई जना जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।