मेघराज भट्टराई ##
दाङ घोराही–१४ निवासी रामबहादुर जिएमका छोरा विजय जिएमको स्मृतिमा जनता प्राथमिक विद्यालय स्वर्गद्वारी नोसमा खडा गरिएको अक्षयकोषबाट सो विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा सहभागी हुने अवसर जुर्यो । उक्त कार्यक्रम २०८१ पुस ६ गते शनिबार सम्पन्न भएको थियो । सर्वप्रथम त छैटौँ विजय जिएम स्मृतिदिवसको अवसरमा विपन्न तथा जेहेन्दार विद्यार्थी पुरस्कार प्राप्त गर्नुहुने तथा यस विद्यालय श्री जनता प्राथमिक विद्यालय स्वर्गद्वारी–२ नोसका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्पूर्ण विद्यार्थीप्रति धन्यवाद तथा स्मृतिशेष बाबु विजय जिएमप्रति श्रद्धासुमन व्यक्त गर्दछु ।
जन्मठाउँ, जन्म दिने आमा बुबा र सही मार्गमा हिँड्न सिकाउने गुरुको स्थान सदैव अग्रठाउँमा हुन्छ । २०७५ पुस ५ गतेका दिन दाङ जिल्ला घोराही उपमहानगरपालिकामा रहेको सहिद कृष्ण सेन इच्छुक प्राविधिक विद्यालयको प्रथम वर्षका विद्यार्थीलाई सल्यानको कपुरकोटमा रहेको बगैँचा भ्रमण अवलोकन गरेर फर्किने क्रममा दाङ र सल्यानको राम्री भन्ने ठाउँमा बस दुर्घटना हुँदा चालक दलका दुई जना स्कुल स्टाफ गरी २३ जनाको दुःखद निधन भएको थियो ।

स्मृतिशेष विजय जिएमका मातापिता यमसरी जिएम र रामबहादुर जिएमले यस विद्यालयमा छोरालाई अमर राख्ने काम गर्नुभएको छ । यसलाई हामी सबैले एउटा शिक्षाको रूपमा लिन सक्यौँ भने सभ्य समाजको निर्माण अवश्य मदत पुग्ने छ । एक जना व्यक्तिले मात्र कुनै पनि काम पूरा गर्न सक्दैन । हामी सबै मिल्यौँ भने जस्तोसुकै चुनौती पनि पार गर्न सक्छौँ । हामी एक, एक, दुई हुँदै अघि बढ्नुपर्छ । राष्ट्र र समाज परिवर्तनका लागि समर्पित हुन आह्वान गर्दै कार्यक्रम अगाडि बढेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर घर्तीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन यस विद्यालयकी प्रधानाध्यापक गङ्गा शर्माले गर्नुभएको थियो । जुठीकुमारी गोडे पुनको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेको थियो । उहाँले बाबु विजय जिएमप्रति एउटा कविताबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो साथै स्मृतिशेष विजय जिएमको सम्झनामा तपसिलका भावना प्रस्तुत गर्ने विद्यालयका शिक्षक जुठाकुमार गोडेमगरलाई हार्दिक धन्यवाद ।
जीवनको रथ चल्दाचल्दै खै कहाँ, कस्तो मोड आउँछ
तिमीसँग बिताएका छिनभरका पलले जीवनभर सम्झाउँछ
तिमीलाई सम्झेर आँसु झार्दै छौँ, छैन यहाँ गुनासो कसैलाई
तिम्रो याद र प्रेम शक्तिमा बदल्दै, माया बाड्दै छौँ सबैलाई

कार्यक्रममा प्रमुख अतिथि तथा जनप्रतिनिधि, यस वडाका वडासदस्य रामकली सुनार तथा यसै विद्यालयका निवर्तमान अध्यक्ष तेजवीर बुढाले विजय जिएमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफनो मन्तब्य राख्नुभएको थियो । रामबहादुर घर्तीमगर (जिएम) को आतिथ्यमा उहाँकै हातबाट तीन जना जेहेन्दार विपन्न र विद्यालय प्रथम हुने र कक्षा प्रथम हुने विद्यार्थीलाई अक्षयकोषबाट पुरस्कार वितरण गरी आफनो मन्तव्यबाट कार्यक्रम समापन भएको थियो । कार्यक्रममा मैले विजय जिएमप्रति समझनामा केही भावना राखेका थिएँ ।
रामबहादुर जिएम २०३६ माघ २६ गते साविक खाल स्वर्गद्वारी नोस प्युठानमा जन्मिनुभएको थियो । उहाँले घरको कमजोर आर्थिक अवस्थाका कारण कक्षा ७ सम्म किताबी शिक्षा लिन पाउनुभएको थियो । आफ्नो घरबाट विद्यालय जान सक्ने अवस्था नभएपछि उहाँले आफ्नो पढाइ बिचमै छोड्नुपरेको मार्मिक पीडा सुनाउनुभयो । यही कारण भारतमा मजदुरी गर्न जानुपरेको कुरा बेलाबखत हामीसँग गर्नुहुन्छ उहाँले । यो हरेक नेपालीको दुखद पक्ष पनि हो । केही अपवादलाई छोडेर बाँकी सम्पूर्ण गरिब नेपालीले आफ्नो गाउँठाउँमा विद्यालय नभएकै कारण पढाइ छुटेका मार्मिक कथा यत्रतत्र छन् ।
उहाँले यमसरीदेवी घर्तीमगरसँग विवाह गर्नुभयो । उहाँहरू दुबै जनाका सन्तान हुन् । स्मृतिशेष विजय जिएम उहाँ २०६० सालदेखि दाङको घोराहीलाई कर्मथलो बनाउनुभएको छ । दाङ जिल्लामै चीरपरिचित नाम हो रामबहादुर जिएम । नेपाल कम्युनिस्ट पार्टी (मसाल) राष्ट्रिय जनमोर्चा तथा अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय सदस्य रहेर पार्टी, देश र समाजको अग्रिम मोर्चामा काम गरेका जिएम निर्माण व्यवसायी पनि हुन् ।
पार्टीलाई परिवार सम्झेर पूरा परिवार पार्टीमा लगाउने काम सजिलिो हुँदैन तर पनि अठोट गरी हरेक आन्दोलन कार्यक्रममा रामबहादुर जिएमको उपस्थिति प्रस्तुति राम्रो छ । यही कारणले पनि अक्षयकोष राखेर छोरालाई सधैँ सम्झिने कार्य गर्नुभएको हो ।
यमसरीदेवी घर्तीमगर २०३९ वैशाख ५ गते प्युठान स्वर्गद्वारी खाल–९ बाजममा जन्मिनुभएको हो । उहाँले घरपरिवारको कामसँगै पार्टी सङ्गठनको काम पनि निरन्तर गरिरहनुभएको छ । पार्टीका साथी, परपाहुना, कलाकार नानीबाबुको रेखदेखदेखि हरेक दुखपीडालाई सङ्घर्षबाट रामबहादुर जिएमलाई साथ दिनुभएको छ ।

यमसरी मधुमेह प्रेसरको रोगी हो तर पनि कहिलै आफ्नो पीडा देखाउनुहुन्न । हामीसँग सधैँ सङ्गठनलाई साथसहयोग गर्दै आउनुभएको छ । उहाँका चार सन्तानमध्ये एक मात्र छोरा विजय जिएमको दुखद मृत्यु भएको पनि ६ वर्ष भइसकेको छ भने तीन छोरीमध्ये जेठी कल्पना जिएमले एमबिबिएस चौथो वर्षको अन्तिम वर्ष चलिरहेको छ । माहिली छोरी रोशनी जिएम कक्षा १२ मा दीपशिखा माध्यमिक विद्यालयमा अध्यनरत छिन भने कान्छी छोरी रेसुङ्गा जिएमले १० कक्षामा अध्ययन गर्दै छिन् ।
यसरी पीडा लुकाएर भए पनि छोरीहरूलाई छोरासरह शिक्षादीक्षा दिएर आत्मनिर्भर बनाउनुपर्छ भनेर दिनरात लागिरहेको छ जिएम परिवार । आज मै हुँ भन्ने नेताका छोराछोरी अमेरिका, अस्ट्रेलिया, जापान, युके, कोरिया छन् तर यमसरीको परिवारले देशभित्र केही गर्नुपर्छ भन्ने आँट राखेर उदाहरणीय काम गर्नुभएको छ । आज रामबहादुर जिएमको जुन स्थान छ, त्यो बिनायमसरी सम्भव हुने थिएन ।

