काठमाडौँ । बौद्ध पुरातात्विक निर्माण सम्बधि विचारगोष्ठी आगामी वर्ष २०८२ सालमा हुने भएको छ ।
अभियानको २०८१ पुस २ गते मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
अभियानकी अध्यक्ष दुर्गा पौडेलद्वारा पुस ३ गते जारी प्रेस वक्तव्यमा बैशाख १३ गते बैठक बसी गोष्ठीको मिति, स्थान र अन्य योजना सार्वजनिक गरिने भएको छ ।
यस्तो छ प्रेस वक्तव्यको पूर्ण पाठ :
“बौद्ध पुरातात्विक सहर निर्माण अभियानले आगामी फागुन १६ र १७ गते काठमाडौँमा बृहत् विचारगोष्ठी गर्ने निर्णय गरेको थियो । २०८१ पुस २ गते काठमाडौँमा बसेको अभियानको बैठकले सो मितिमा गोष्ठी सम्पन्न गर्न तयारी नपुगेको निष्कर्षमा पुगेकोे छ ।
त्यसैले सो गोष्ठी अर्काे वर्ष २०८२ सालमा सम्पन्न गर्ने ठेगान भएको छ । त्यसका लागि वैशाख १३ गते अभियानको बैठक बस्ने छ र त्यसले बृहत् विचारगोष्ठीको मिति, स्थान र कार्यक्रमको विस्तृत योजना सार्वजनिक गर्ने छ ।
हाम्रो विचारगोष्ठीको उद्देश्य कपिलवस्तु, रुपन्देही र नवलपरासीका बौद्ध सभ्यतासँग सम्बन्धित करिब १५० स्थानलाई मिलाएर बृहत् पुरातात्विक सहर निर्माणका लागि आधार र जनमत तयार पार्नु रहेकोे हामीले पहिले नै स्पष्ट पारिसकेका छौँ । सो गोष्ठीमा यस विषयसँग सम्बन्धित कैयौँ विद्वानद्वारा कार्यपत्र प्रस्तुत गरिने छ । यसरी यो गोष्ठीमार्फत् हामीले बौद्ध पुरातात्विक सहर निर्माणको पक्षमा प्रारम्भिक आधार तयार पार्ने प्रयास गर्ने छौँ । हाम्रो यो कार्यबाट प्राचीन बौद्ध सभ्यताको संरक्षण पर्यटन प्रवद्र्धन र देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने आशा गरेका छौँ ।”