काठमाडौं । प्यालेस्टाइनी जनतामाथि इजरायलले गरेको ज्यादतीविरुद्ध हस्ताक्षर संकलन अभियान जारी छ ।
सोमबार शान्तिवाटिकाबाट सुरु भएको अभियान काठमाडौंका विभिन्न भागमा जारी रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
राजमोले तीनदिनसम्म शान्तिवाटिकामै हस्ताक्षर संकलन गर्नेछ भने अन्य वामपन्थी दल र नागरिक समाजले पनि विभिन्न स्थानमा हस्ताक्षर संकलन गरिरहेको राजमो काठमाडौंका नेता छवि खनालले बताउनुभयो ।
हस्ताक्षर संकलन बिहीबार (मंसिर २७) गते पनि हुने छ । त्यसपछि एक महिनासम्म विभिन्न प्रदेश र जिल्लाहरुमा अभियान सञ्चालन रहनेछ ।
विभिन्न वामपन्थी दल तथा नागरिक समाजका अगुवाहरूले मंसिर २५ गते शान्तिवाटिकाबाट इजरायली जनसंहारविरुद्ध हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
त्यसक्रममा नेताहरूले इजरायल– प्यालेस्टाइन युद्धमा नेपाल तटस्थ बसेकोमा सरकारको भर्त्सना गरेका थिए ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, जसपा नेता उपेन्द्र यादव, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले एक महिनासम्म हस्ताक्षर संकलन जारी राख्ने अभियानका संयोजक श्याम श्रेष्ठले बताउनुभएको छ ।