काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पर्सामा बयान सुरु भएको छ ।
पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ ।
लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।