काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कानुन विपरित नौ महिनासम्म पदमा रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अध्यक्ष सिलवाल कानुन विपरित गएर ६५ वर्षको उमेरमा अवकाश नभइ ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोप छ ।
सिलवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ साल फागुन २४ गते नेपाली नागरिकता प्राप्त गर्दा १६ वर्ष भएको उल्लेख गरेको तर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०६६ वैशाख १७ गते नागरिकताको प्रतिलिपि लिँदा जन्ममिति २०१६ साल कार्तिक २२ गते कायम गरेको अख्तियारको भनाई छ ।
उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा पनि जन्ममिति फरक फरक लेखेको पाइएको छ ।
उनलाई झुटो जन्ममिति कायम गरी सरकारी ओहोदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले माग गरेको छ ।