श्यामलाल पोखरेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाले पार्टीसदस्य तथा अखिल नेपाल महिला सङ्घकी नेतृ दमयन्तादेवी उपाध्यायको निधन भएको तेह्रौँ दिन श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।
२०८१ मङ्सिर २० गते बिहीबार दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा सो कार्यक्रम भएको हो ।
७५ वर्षीय दमयन्तादेवीको गत मङ्सिर ८ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो ।
कम्युनिस्ट आन्दोलनलाई क्षति : सिंह
कार्यक्रममा बोल्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दमयन्तादेवी उपाध्यायको निधनले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको बताउनुभयो ।

उहाँले दमयन्तादेवीले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्नुपर्ने पनि बताउनुभयो ।
मसालले योग्य र कुशल पार्टीसदस्य गुमाएको बताउँदै महामन्त्री सिंहले दमयन्तादेवी अघि बढेको राजनीतिक सोच पूरा गर्न कम्युनिस्ट आन्दोलनमा निष्ठापूर्वक लाग्न सके मात्रै उहाँप्रति सच्चा श्रदाञ्जली हुने बताउनुभयो ।
आन्दोलनमा पुर्याएको योगदानको सम्मान : केसी
त्यस्तै, राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले दमयन्तादेवी उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।
दमयन्तादेवीले कम्युनिस्ट आन्दोलनमा पुराएको योगदानको सदा सम्मान गर्दै उहाँंको व्यवहार बाचेकाले अङ्गिकार गर्नुपर्ने उहाँको भनाइ थियो ।
दमयन्तादेवी सच्चा र निष्ठावान् पार्टीसदस्य भएको चर्चा गर्दै उहाँले समाज रूपान्तरणका लागि कम्युनिस्ट पार्टीलाई अगाडि बढाउन उनको ठुलो हात रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– रश्मिराज नेपालीलाई कम्युनिस्ट पार्टीको नेता बनाउनमा स्मृतिशेष दमयन्तादेवीको ठुलो हात रहेको थियो ।
बहुसङ्ख्यक जनताको हितमा काम गर्नका लागि दमयन्तादेवी उपाध्यायले ठुलो प्रेरणा रहेको बताउँदै अध्यक्ष केसीले स्मृतिशेष दमयन्तादेवी श्रदाञ्जली व्यक्त गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद केसीले समाजमा परिवर्तन ल्याउन कम्युनिस्ट आन्दोलनलाई सफल बनाउनुपर्ने बताउँदै मौसमअनुसारको राजनीतिले नहुने बताउनुभयो ।
उहाँले दमयन्तादेवीको जस्तो निस्वार्थ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बहुसङ्ख्यक जनताको हितमा काम गर्नै दमयन्तादेवी जस्ता सोचविचार भएकाहरूको यो समाजमा खाँचो रहेको बताए ।
राष्ट्रिय जनमोर्चा हिडेको राजनीतिक बाटो अप्ठ्यारो छ भन्दै अप्ठ्यारो बाटोमा लागेर दमयन्तादेवी कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान उच्च प्रकारको रहेको बताए ।
अन्धविश्वासले समाज जकडिएको बताउँदै अध्यक्ष केसीले दमयन्तादेवीको निधनल दुखी बनाएको अवस्थामा अधिकारी परिवारको किरिया बस्ने प्रगतिशील कामले आफूलाई खुसी लागेको र केही परिवर्तनको सङ्केत देखिएको बताउनुभयो ।
अन्धविश्वासलाई क्रमशः छोड्दै जानुपर्ने चर्चा गर्दै एक्काइसौँ शताब्दीमा बताउँदै विज्ञानले देखाएको बाटोलाई आत्मसात गर्न आग्रह गर्नुभयो ।
दमयन्तादेवीका कारण आन्दोलनमा सजिलो भयो : नेपाली
स्मृतिशेष दमयन्तादेवीका श्रीमान राजमो कार्यकारी अध्यक्ष तथा संविधानसभा सदस्य रश्मिराज नेपालीले जीवनसाथी दमयन्तादेवीप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै जीवनसाथीका कारण आफू कम्युनिस्ट पार्टीमा लाग्न सजिलो भएको बताउनुभयो ।

जीवनसाथी दमयन्तादेवीले जस्तोसुकै समस्या पर्दा पनि निडरताका साथ कम्युनिस्ट आन्दोलनामा लाग्न ठुलो सहयोग गरेको बताउँदै पञ्चायत विरुद्ध लड्दा प्रहरीले घरमै आएर पटक पटक धरपकडका साथ दमन गर्दा पनि दमयन्तादेवी आफू कम्युनिस्ट पार्टीमा लागेर मलाई पनि कम्युनिस्ट पार्टीका लागेर काम गर्न सहयोग गरेको सुनाउनुभयो ।
श्रद्धाञ्जली सभामा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, नेकपा (मसाल) लुम्बिनीका प्रवक्ता तिलक जिसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राजमोका पूर्व केन्द्रीय सचिव सुरेश थापा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तथा संविधानसभा सदस्य मीना पुन, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्दिराज शर्मा, अखिल नेपाल बुद्धिजीबी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो नेताहरू गुणनिधि शर्मा, कुलराज अधिकारीलगायतले बोल्दै स्मृतिशेष दमयन्तादेवीको निधनले कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको बताउनुभयो ।

कार्यक्रममा दमयन्तादेवीका भान्जा विकास गौतमले दमयन्तादवीको जीवनीबारे जानकारी गराउनुभएको थियो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता र शुक्रराज भण्डारीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
स्मृतिशेष दमयन्तादेवीले २०२२ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ल्याएर हालसम्म नेकपा (मसाल) को सदस्य रहेको सो पार्टीले जनाएको छ ।

त्यस्तै दमयन्तादेवी महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो ।
उहाँ अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय प्रतिनिधि विप्लव अधिकारी, प्रगतिशील पत्रकार सङ्घका संस्थापक सदस्य तथा हालका सल्लाहकार अग्रज पत्रकार सुमन अधिकारी, राजमोका स्थानीय नेता भरत अधिकार, शुभद्रा र सीताकी आमा हुनुहुन्थ्यो ।
