काठमाडौं । भक्तपुरमा एक महिलाका गहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् । प्रहरीले लुटपाटमा संलग्न तीन जना र लुटिएको सुन किन्ने एक व्यापारीलाई पनि पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार मंसिर १० गते दिउँसो ४ बजेतिर भक्तपुर नगरपालिका १० मालपोत कार्यालय नजिकै खालिचौरमा बसिरहेकी सीता थापा भन्ने रेनुका नेपालीलाई अपरिचित युवतीहरुले खाजा खान भन्दै लगेका थिए।
काभ्रेपलान्चोकको पनौती नगरपालिका ३ स्थाई घर भएकी ५५ वर्षीया रेनुका हाल भक्तपुर नगरपालिका २ को महाकाली कुनाटोलमा डेरा गरी बस्छिन्। उनलाई होटलमा लगी अत्याधिक रक्सी खुवाएर अर्धचेत बनाएका थिए।
प्रहरीका अनुसार राति साढे ८ बजेतिर होटलबाट उनीहरुले भक्तपुर नगरपालिका ६ स्थित कार्साङ कुसुन खोलाको छेउमा लगेका थिए।
त्यहाँ उनका हात–खुट्टा बाँधी मुखमा कपडा कोची हार गुहार गर्न नसक्ने पारेर उनले लगाएका सुनका गहना र मोवाइल लुटपाट गरेको प्रहरीको भनाई छ।
घटनाको सूचना पाएलगतै खटिएको अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर ११ गते तीन जनालाई पक्राउ गरी भक्तपुर परिसरमा बुझाएको थियो। यस्तै लुटपाट गरेको सुन किन्ने नुवाकोट सुर्यगढी गाउँपालिका ५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका ६ स्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक ४४ वर्षका राजिन सुनारलाई पनि पक्राउ गरेको छ।
त्यसअघि रामेछाप दोरम्बा गाउँपालिका ७ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ सिद्दिकाली डेरा गरी बस्ने २७ वर्षीय चेत बहादुर विक, सोही ठाउँकी २५ वर्षकी सानु कोईराला विक र दोलखाको जिरी घर बताउने र भक्तपुरमा डेरा बस्ने १९ वर्षकी माया भन्ने सविता कोईराला विक पक्राउ परेका थिए।
उनीहरुले लुटेको सुन राजिनलाई बेचेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको र परिसरमा बुझाएको एसपी आचार्यले बताए। उनीहरुले लुटेको सुन बेचेका पैसा र सुनका विभिन्न गहना पनि प्रहरीले बरामद गरेको छ।