काठमाडौँ । नेकपा (मसाल) ले आफ्नो पार्टीका सदस्य अगम्बर पाठकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवदेना व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर १० गते सोमबार वक्तव्य जारी गर्दै पार्टीले शोक व्यक्त गरेको हो ।
दमरोगबाट पीडित पाठकको मङ्सिर ८ गते बिहान ८ः५० मा निधन भएको थियो ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका–११ रायडाँडामा डिल्लीप्रसाद पाठक र आमा दौपदी पाठकका छ भाइ छोरामध्ये साहिलो छोराको रूपमा २००६ साउन ६ गते उहाँको जन्म भएको थियो ।
उहाँको परिवारमा पत्नी दीपा पाठक, छोरा पुष्पराज पाठक (विनोद), बुहारी नोना लक्ष्मी खनाल पाठक (सिर्जना), दुई नाति गोकुल पाठक (सर्वेश) र हेमन्त पाठक (विभोर) रहेका छन् ।
स्मृतिशेष लामो समय भारतको केरलामा जागिर गरेर २०५९ सालमा नवलपुरमा आई बसोबास गर्दै हुनुहुन्थ्यो ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“नवलपुर जिल्ला गैँडाकोट–२ निवासी कामरेड अगम्बर पाठक (का. उमेश) को २०८१ मङ्सिर ८ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड अगम्बर पाठक हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी र जनवर्गीय मोर्चाका विभिन्न समितिमा रहेर जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”