काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध तीनवटा सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले कारबाही अघि बढाएको छैन ।
नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष बरालमाथि सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
उनी सार्वजनिक कार्यक्रममा सक्रिय छन् तर प्रहरीले कारबाही अघि बढाएको छैन ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मंसिर २ गते रवि लामिछाने र छविलाल जोशीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा बरालको नाम पनि उल्लेख छ । त्यसअघि पनि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दुई पटक पक्राउ पुर्जी जारी भइसकेको छ ।
तर पक्राउ पुर्जी जारी भएका उपाध्यक्ष बराल भने अहिले पनि सार्वजनिक कार्यक्रममा सक्रिय छन् । विभिन्न कार्यक्रममा सहभागी भएको तस्वीर उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तर उनीविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छैन ।
बराल जोडिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।
तीन वटा सहकारी ठगीका आरोपी बराल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।