काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।
काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा उहाँको आज २०८१ मङ्सिर २ गते आइतबार दिउँसो १ः३० बजे निधन भएको हो ।
स्मृतिशेष ढुङ्गानाका स्वकीय सचिव डा रुद्र शर्माले सो जानकारी दिनुभएको हो ।
वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।
२०४८ सालमा काठमाडौँ क्षेत्र नं. २ बाट नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख रहनुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक पटक जेल पनि पर्नुभएको थियो ।
ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने स्वकीय सचिव शर्माले जानकारी दिनुभयो ।
उहाँको परिवारमा पत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ ।