वीरगञ्ज । पर्साको वीरगञ्जमा खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको कारणले भारतबाट सहजै ढङ्गले लागुऔषध भित्रिँदा पनि यसको मारका यहाँका युवा परेका हुन् ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले खुला सीमानाकाबाट अवैध रूपमा लागुऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताउनुभयो ।
‘खुला सीमानाकाको कारणले स्कुले उमेरदेखि नै यहाँका युवा कुलतमा फस्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘अहिले युवालाई लागुऔषधको कुलतबाट जोगाउनुपर्ने बेला भइसकेको छ ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको बताउनुभयो ।
‘खुला सीमानाकाको कारणले पनि यहाँका युवापुस्ता लागुऔषधको कुलतमा फस्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘पर्सा प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।’
प्रहरी नायब उपरीक्षक भट्टले पर्साका परेका मुद्दामध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित रहेको जानकारी दिनुभयो ।
‘१५ देखि ४५ वर्ष उमेर समूहका युवा लागुऔषधको कुलतमा पर्ने गरेको देखिएको छ’ उहाँले भन्नुभयो– ‘मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुकलाई र परिवारलाई पनि ठुलो क्षति भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आव २०७८/७९ मा लागुऔषधसम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । त्यसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ गरेका थिए । त्यस्तै, आव २०७९/८० मा लागुऔषध सम्बन्धित तीन सय दुईओटा मुद्दा परेको थियो । त्यसमध्ये तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आव २०८०/८१ मा दुई सय चारओटा मुद्दा परेको थियो, जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए ।
पर्सामा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाइजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्सलगायत प्रयोग गर्ने गर्छन् ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले पर्सा प्रहरीले लागुऔषधको दुर्व्यसनीको विरुद्धमा नियमित रूपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।
‘पर्सा प्रहरीले नागरिक समाजसँग हातेमालो गरेर लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ’ उहाँले भन्नुभयो– ॅखुला सीमानाकाको कारणले पनि लागुऔषधको दुर्व्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।’ (रासस)