भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा कात्तिक २३ गते शुक्रबार बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकआपसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
झापामा एकको मृत्यु, एक घाइते
यता, झापाको गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि अस्पताल लगिएकोमा निजको मृत्यु भएको थियो ।