• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्दै नयाँ जनवादी क्रान्तिको परिस्थिति तयार पार्ने मसालको भनाइ


  •   बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले तात्कालिक राजनीतिक परिस्थितिमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्दै नयाँ जनवादी क्रान्तिको परिस्थिति तयार पार्ने नीति अपनाउने बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक २२ गते बिहीकार १६ बुँदे प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    “विद्यमान बहुदलीय व्यवस्था वा गणतन्त्रको रक्षा गर्नु हाम्रो तात्कालिक कार्यदिशा हुन्छ र हुनुपर्दछ” वक्तव्यमा अगाडि भनिएको छ– “तर त्यसका साथै एकातिर, नयाँ जनवादी व्यवस्था ल्याउनको लागि परिस्थिति तयार पार्न, प्रचारात्मक आन्दोलन अगाडि बढाउँदै, अर्कातिर, विद्यमान व्यवस्थाका गलत नीति र क्रियाकलापका विरुद्ध लगातार सङ्घर्ष गर्दै जाने पनि हाम्रो तात्कालिक कार्यनीति हुनुपर्छ ।”

    प्रेसवक्तव्यमा प्रतिगमनको खतरा, ओली सरकारको चरित्र विश्लेषण, सहकारी रकम अपचलनसम्बन्धी छानबिन, विकास निर्माण, २०८४ सालको चुनाव, अन्तर्राष्ट्रिय परिस्थितिलगायतका विषयमा विस्तृतमा विश्लेष गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१. देशको आजको राजनीतिक स्थिति गम्भीर छ । आम रूपमा यो भन्ने गरिन्छ र त्यो भनाइमा सत्यता पनि छ कि जनतामा व्यापक असन्तोष र निराशा छ, संसारका कैयौँ देशमा त्यस प्रकारको वातावरणबाट फाइदा उठाएर प्रतिक्रियावादी शक्तिहरू सत्तामा आउने गरेका छन् । त्यही प्र्कारको पृष्ठभूमिमा जर्मनीमा हिटलर र इटालीमा मुसोलिनीका फासिष्ट शासन कायम भएका थिए । संसारका धेरै देशमा त्यस्तो हुने गरेको छ, फ्रान्समा पनि गणतन्त्र पक्षधर राजनीति शक्तिका गलत नीति र क्रियाकलापका कारणले जनतामा उत्पन्न भएको असन्तोषबाट फाइदा उठाएर बारम्बार गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनर्स्थापना हुने गरेको थियो यद्यपि अन्तमा त्यहाँ गणतन्त्रको नै विजय भयो ।

    २. नेपालमा पनि २०१५ सालपछिको जनताको नेका सरकारप्रतिको असन्तोषबाट फाइदा उठाएर राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम भएको थियो । २०४६ सालपछि पनि त्यो बेला सत्तामा आएका बहुदलपक्षीय सरकारका गलत नीति र क्रियाकलापका कारण जनतामा उत्पन्न असन्तोषबाट फाइदा उठाएर निरङ्कुश राजतन्त्र कायम गरिएको थियो ।

    ३. २०६५ सालमा नेपालमा गणतन्त्रको स्थापना भएपछि, गणतन्त्र पक्षधर सरकारका गलत नीति र क्रियाकलापका कारणले पनि जनतामा धेरै नै असन्तोष र निराशा उत्पन्न भएको छ । विभिन्न प्रतिक्रियावादी शक्तिले गणतान्त्रिक प्रणाली नै गलत भएको साबित गरेर देशलाई प्रतिगमनतिर लैजानका लागि योजनाबद्ध र सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । त्यसैले हाम्रो पार्टीले प्रतिगमनको खतरालाई अत्यन्त गम्भीर रूपमा लिएको छ र त्यसका विरुद्ध गणतन्त्र र धर्मनिरपेक्ष पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    ४. सधैँ झैँ अहिले पनि हामीले यो कुरामा जोड दिने गरेका छौँ कि आज देशमा जुन गम्भीर स्थिति देखा परेको छ, त्यसको समाधान प्रतिगमन नभएर अग्रगमन नै हो र हामीले त्यसको लागि नै आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्छ । त्यही नै दीर्घकालीन रूपमा देश र जनताको हितमा हुने छ ।

    ५. अहिले देशमा जुन विभिन्न आन्दोलन चलिरहेका छन् वा निकट भविष्यमा नै कैया“ै आन्दोलन अगाडि उठ्ने कुरा आइरहेको छ, तिनीहरूबारे पनि हामीले आफ्नो दृष्टिकोण स्पष्ट गर्न चाहन्छौँ । कथित स्वतन्त्र पार्टीले सरकारले उनीहरूका नेतालाई पूर्वाग्रह र राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको भनेर आन्दोलन गरिरहेको छ । त्यो आन्दोलनलाई हामीले गलत मान्दछौँ । आज वास्तवमा सहकारी संस्थामा जनताले जम्मा गरेको अर्बौं रकमको अपचलन वा ठगी हुने गरेको छ । पहिले पनि त्यस प्रकारका धेरै घटना घटेका थिए र अहिले पनि त्यस प्रकारका नयाँ नयाँ घटना घटेका समाचार सञ्चारमाध्यमले बाहिर ल्याइरहेका छन् । सहकारीसम्बन्धी त्यस प्रकारका घटनाबारे निष्पक्ष छानबिन गरेर तुरुन्त कडाइसाथ कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यही सन्दर्भमा अहिले सहकारी रकमको अपचलनसम्बन्धी मुद्दामा “स्वतन्त्र पार्टी” का नेतामाथि गरिएको कारबाहीलाई पनि हामीले सही ठान्दछौँ र त्यसलाई समर्थन गर्दछौँ । त्यसबारे उनी दोषी भएको वा नभएको कुरा पछि अदालतले गर्ने निर्णयबाट थाहा हुने छ तर अहिले त्यस प्रकारको कारवाही वा पुर्पक्षका लागि आधार भएको कुरामा कुनै शङ्का छैन । त्यही पनि कसैका विरुद्ध चलेका त्यस्ता मुद्दामा बिनाकुनै पूर्वाग्रह निष्पक्षतापूर्वक छानबिन र कारबाही हुनुपर्छ भन्ने हाम्रो दृढ मत रहेको छ । निश्चय नै सहकारी रकमको अपचलनसम्बन्धी कयौँ मुद्दामा अहिलेसम्म कुनै कारबाही नभएको कुराप्रति हाम्रो ध्यान छ र बिनाकुनै पूर्वाग्रह वा पक्षपात त्यस प्रकारका सबै मुद्दामा छानबिन गरी आवश्यकताअनुसार कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मत रहेको छ तर त्यस प्रकारका कुनै मुद्दामा अहिलेसम्म कुनै कारबाही नगरेको कारणले “स्वतन्त्र पार्टी” का नेतामाथि कुनै कारबाही चलाउनुहुन्न भन्ने सोचाइलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसका लागि उनीहरूले चलाइरहेको आन्दोलनलाई पनि गलत मान्दछ ।

    ६. राजावादीले राजतन्त्रको पुनर्स्थापनाको पक्षमा र धर्मनिरपक्षताको विरुद्ध छिट्टै देशव्यापी आन्दोलन गर्ने कुरा गरेका छन् । देशमा अहिले जनतामा उत्पन्न असन्तोष वा निराशाबाट फाइदा उठाएर उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गर्न थालेका छन् । देशमा नेपाली जनताले करिब ढाई सय वर्षको राजतन्त्र र करिब तीन दशक पञ्चायती शासन भोगिसकेका छन् । करिब एक शताब्दीको निरङ्कुश राणाशासन पनि जनताले भोगेका छन् । त्यो कालमा जनताले भोग्नुपरेका सबै प्रकारको दमन, कुशासन, राष्ट्रिय सम्पत्तिको लुट, महिलामाथिका बलात्कार र हत्या आदि कुनै लुकेका कुरा होइन्न । त्यस प्रकारको “स्वर्गीय” जीवन गुमेको हुनाले नै पुराना शासक वर्गले देशमा पुनः राजतन्त्र स्थापना गर्न चाहन्छन् र त्यसका लागि उनीहरूले हिन्दु धर्मलाई हतियार बनाउ“दै छन् । त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारको प्रतिगामी खतराको विरुद्ध जनतामा उच्च प्रकारको सतर्कता र आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । देशमा गणतन्त्रको स्थापना भएपछि सत्तामा आएका विभिन्न राजनीतिक पार्टीले अपनाएका गलत नीति, क्रियाकलाप, कुशासन वा भ्रष्टाचार आदिप्रति हाम्रो पार्टीको ध्यान छ तर त्यो कारणले देशलाई पुनः मध्ययुगीन राजतन्त्र वा निरङ्कुश शासनतिर लैजानु र त्यसरी देशलाई प्रतिगमनको बाटोमा लैजानु समस्याको सही समाधान होइन र त्यसबाट देश र जनताको कुनै हित नहुने कुरा निश्चित छ । त्यसैले देश र जनताका समस्याको समाधानका लागि देशलाई अग्रगमनको दिशामा लैजान नै प्रयत्न गर्नुपर्छ र देशलाई प्रतिगामी दिशामा लैजाने प्रयत्नका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नुपर्छ ।

    ७. प्रचण्डले उनीहरूले भ्रष्टाचारका विरुद्ध कारबाही गर्न थालेको हुनाले नै उनीहरूको सरकारलाई अपदस्थ गरेको दाबी गरिरहेका छन् तर उनीहरूको त्यो दाबीमा कुनै औचित्यता छैन । उनले सधैँ गर्वपूर्वक ‘क्रमभङ्गता’ मा जोड दिने गरेका छन् । त्यसलाई उनले आफ्नो
    कार्यशैलीमा गतिशीलता भएको पनि बताउने गरेका छन् तर त्यो उनको हद दर्जाको अवसरवादी प्रवृत्ति हो । उनको सम्पूर्ण राजनीतिक लाइन, व्यवहार वा कार्यशैली त्यही अवसरवादी प्रवृत्तिद्वारा निर्देशित हुने गरेको छ ।

    देशमा प्रतिगमनको खतरा बढेपछि र ओलीका तर्फबाट पनि त्यस प्रकारको खतरा देखा परेपछि प्रतिगमनका विरुद्ध भएका शक्तिको गठबन्धन बनेको थियो । त्यो गठबन्धनले प्रतिगमनका विरुद्ध सङ्घर्षमा महत्त्वपूर्ण सफलता पनि प्राप्त गरेको थियो तर प्रचण्डको अवसरवादी, सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको महत्त्वाकाङ्क्षाको प्रवृत्तिको कारणले प्रतिगमनका विरुद्ध बनेको त्यो गठबन्धन कायम रहन सकेन । त्यो क्रममा उनी जुन एमालेका विरुद्ध सङ्घर्षको लागि गठबन्धन बनेको थियो, त्यसका विरुद्ध गएर एमालेसित समेत गठबन्धन गर्न पुगेका थिए । प्रचण्डले जुन प्रकारको चालबाजी गरेर गठबन्धनमा हेराफेरी गर्ने काम गरे, ओलीले पनि त्यही तरिका अपनाएर प्रचण्डको नेतृत्वको सरकारलाई अपदस्थ बनाइदिएका हुन् । त्यस प्रकारको पृष्ठभूमिमा उनीहरूले भ्रष्टाचारका विरुद्ध कदम चाल्न थालेको हुनाले नै उनीहरूको सरकारलाई अपदस्थ गराइएको भन्ने प्रचण्डको दाबीमा कुनै औचित्यता नभएको कुरा छर्लङ्ग छ ।

    एमाले र काङ्ग्रेसका बिचमा गठबन्धन भएर प्रचण्डको सरकारलाई अपदस्थ गर्ने पहल सुरु भएपछि नै प्रचण्ड सरकारले आÇनो सरकार अपदस्थ भएको अवस्थामा आफ्नो औचित्यताको प्रदर्शन गर्न छिटो छिटो भ्रष्टाचारसम्बन्धी मुद्दामा पहल गर्न थालेका थिए । त्यो सन्दर्भमा उनले “स्वतन्त्र पार्टी” का नेताका विरुद्ध संसद्मा सहकारी रकमको अपचलनसम्बन्धी आरोप आउँदा प्रधानमन्त्रीको हैसियतले नै पूरै निर्दोष भएको जुन स्पष्टीकरण दिएका थिए, त्यसले पनि उनको अत्यन्त निम्नस्तरको कार्यशैलीलाई नै बताउँछ । त्यो क्रममा र पछि पनि “स्वतन्त्र पार्टी” सित जुन प्रकारको उनको गठबन्धन भयो, त्यसले गर्दा माओवादीको राजनीतिक इतिहासको धेरै नै अवमूल्यन पनि हुन गएको छ ।
    हामीलाई यो देखेर आश्चर्य र दुःख पनि लाग्दछ कि लामो क्रान्तिकारी पृष्ठभूमि भएको माओवादीले प्रचण्डको त्यस प्रकारको सम्पूर्ण कार्यशैलीलाई कसरी पचाउन सकेको छ ? प्रचण्डको त्यस प्रकारको सिद्धान्तहीन अराजनीतिक कार्यशैलीका पृष्ठभूमिमा विचार गर्दा अहिले उनीहरूले गर्न थालिरहेको आन्दोलनको कुनै अर्थ र औचित्यता नभएको कुरा प्रष्ट छ ।

    ८. अहिले देशमा ओली सरकारको नेतृत्वमा बनेको एमाले र काङ्ग्रेस गठबन्धन सरकारका गलत नीति र क्रियाकलापप्रति पनि हाम्रो पूरा ध्यान छ । ओली आÇनो अधिनायकवादी, स्वेच्छाचारी र भ्रष्ट नीति र क्रियाकलापका लागि पहिलदेखि नै बदनाम व्यक्ति हुन् । गणतन्त्र र धर्मनिरपेक्षताप्रति पनि उनको विवादास्पद दृष्टिकोण रहेको छ । गणतन्त्रको आन्दोलनको सन्दर्भमा उनले अगाडि सारेको बयलगाडाको अवधारणा आम रूपमा थाहा भएको कुरा हो । प्यालेस्टाइनको पक्षमा उनले अपनाएको तटस्थ नीतिबाट पनि उनको परराष्ट्रनीति झन्पछि झन् गलत हुँदै गएको कुरामा कुनै शङ्का रहन्न । संयुक्त राष्ट्र सङ्घको महासभामा प्यालेस्टाइनसम्बन्धी प्रश्नमा वर्तमान सरकारले अपनाएको नीति पूरै भारतपरस्त नीति हो । विद्युत महसुलको प्रश्नमा उनले लिएको अडानले पनि उनको पूरै भ्रष्ट चरित्रलाई नै बताउँछ । एमालेको पार्टी कार्यालय निर्माणको लागि अगाडि आएको जग्गासम्बन्धी विवाद पनि उनको भ्रष्ट चरित्रको एउटा ज्वलन्त नमुना हो । त्यसरी गिरिबन्धु टी स्टेटदेखि अहिलेसम्मको उनको चरित्रको मूल्याङ्कन गर्ने हो भने उनको चरित्र पूरै भ्रष्ट भएको कुरामा कुनै शङ्का रहन्न ।

    “स्वतन्त्र पार्टी” का विरुद्ध अहिले सरकारले गरेको कारबाही सही छ र त्यसैले हामीले त्यसलाई समर्थन गरेका छौँ तर त्यो पार्टीका नेता नागरिकता वा राजनीतिक प्रकरणमा दोषी भएको कुरामा पनि ओलीले उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनेसम्म काम गरेका थिए र संसद्मा उनका विरुद्ध सहकारी अपचलनको कुरा उठ्दा त्यो विषयलाई दबाउने प्रयत्न गरेका थिए । पछि त्यससितको सम्बन्ध बिग्रेपछि नै उनका विरुद्ध मुद्दा चलाउने कार्य गरेका छन् । त्यसैले त्यो कारवाही प्रतिशोध र पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ तैपनि राजनीतिमा निर्णयात्मक महत्त्वको कुरा नियत होइन, परिणाम नै हुन्छ । त्यसैले “स्वतन्त्र पार्टी” का नेताका विरुद्ध गलत नियतले कारबाही चलाइएको भए पनि त्यो कार्य सही र न्यायपूर्ण छ र त्यसैले हामीले त्यसलाई समर्थन गरेका छौँ । सरकारको त्यस प्रकारको गलत कार्यप्रणालीका कारणले देशमा सुव्यवस्था कायम हुने वा दिगो विकास हुने सम्भावना छैन । त्यसैले वर्तमान सरकारका त्यस प्रकारका नीति र क्रियाकलापका विरुद्ध जनचेतना उठाउन र आन्दोलन सङ्गठित गर्न हामीले लगातार जोड दिनुपर्ने आवश्यकता छ ।

    ९. राष्ट्रिय जनमोर्चाले यही सालको चैत २४ गतेदेखि ३० गतेसम्म सङ्घीयताका विरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीयताका विरुद्ध आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको छ । अब देशका लागि सङ्घीयता अफाप भएको कुरा प्रमाणित भइसकेको छ । त्यसैले सङ्घीयताका विरुद्ध राष्ट्रिय जनमोर्चाले गर्न थालेको राजधानीकेन्द्रित आन्दोलन देशको वस्तुगत र राष्ट्रिय आवश्यकताअनुरूप भएको कुरा प्रष्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यो आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्छ र त्यसलाई पूरा समर्थन तथा सहयोग गर्न जनतासित अपिल गर्दछ ।

    १०. हाम्रो पार्टीको यो स्पष्ट धारणा छ कि अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ र त्यो खतरा बढ्दै गइरहेको छ । त्यसैले प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूको त्यसका विरुद्ध गठबन्धन हुनुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले त्यसमा लगातार जोड दिँदै आएको छ तर विभिन्न राजनीतिक पार्टी वा सङ्गठनका ढुलमूल, अवसरवादी वा सम्झौतापरस्त नीतिका त्यस प्रकारको गठबन्धन कमजोर हुने वा टुट्ने गरेको छ । प्रतिगमन विरुद्धको सङ्घर्षमा हाम्रो पार्टीको देशमा सबैभन्दा बढी स्पष्ट र दृढ नीति रहने गरेको छ तर स्वयम् गणतन्त्रको पक्षमा भएका विभिन्न राजनीतिक शक्तिका अवसरवादी र गलत नीतिका कारणले प्रतिगमनलाई एक वा अर्को प्रकारले बल पुग्ने गरेको छ ।

    देशमा गणतन्त्र वा धर्मनिरपेक्षता ल्याउनका लागि एमालेको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यसबारे ओलीको सुरुदेखि नै ढुलमूल दृष्टिकोण रहेको कुरा हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ । गिरिजाको नेतृत्वमा नेकाको पनि गणतन्त्र र धर्मनिरपक्षेताको पक्षमा महत्त्वपूर्ण भूमिका रहेको थियो तर अहिले नेकाको एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्रको पक्षमा उभिएको छ । माओवादीले कथित जनयुद्धको कालमा राजापरस्त नीति अपनाएको थियो तर चुनबाङ बैठकमा त्यसले आफ्नो त्यो नीतिमा सुधार गर्‍यो र त्यसपछि देशमा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षको आन्दोलनमा त्यसको पनि महत्त्वपूर्ण भूमिका रह्यो । सामान्यतः त्यसको त्यो नीति अहिले पनि कायम छ भन्न सकिन्छ तर त्यसको सिद्धान्तहीन र अराजनीतिक कार्यशैली वा ढुलमूल अवसरवादी र चरम प्रकारको महत्त्वाकाङ्क्षी प्रवृत्तिका कारणले प्रतिगमन विरुद्धको गठबन्धनमा त्यसले गम्भीर प्रकारको क्षति पुर्‍याउने गरेको छ । त्यसबाट अलग भएर बनेको अहिलेको क्रान्तिकारी कम्युनिस्ट समूहमा पहिलेको राजापरस्त लाइनको अवशेष अहिले पनि पाइन्छ । त्यसैले अहिले पनि उनीहरूले प्रतिगमन वा राजावादी खतरा वा गणतन्त्रबारे सही दृष्टिकोण अपनाउन सकेका छैनन् । देशका अन्य कतिपय वामपन्थी समूहमा पनि राजावादी खतरा, प्रतिगमनमा गणतन्त्रबारे सही दृष्टिकोणको कमी पाइन्छ ।

    यी सबै कारणले आज देशमा राजावादी खतरा वा प्रतिगमनका विरुद्ध बलियो प्रकारको गठबन्धन निर्माण गर्न वा आन्दोलन उठाउन बाधा पुगिरहेको छ तैपनि हाम्रो पार्टीले देशमा राजतन्त्रको पुनर्स्थापनाका विरुद्ध र गणतन्त्रको पक्षमा बलियो जनमत रहेको छ भन्ने विश्वास गर्दछ । गणतन्त्र र धर्मनिरपक्षेताको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिमा अझै पनि त्यस प्रकारका सोचाइ बलियो रूपमा विद्यमान छन् भन्ने हाम्रो विश्वास छ । ती सबै सम्भावना वा आधारलाई अधिकतम रूपमा उपयोग गर्दै वा तिनीहरूसित सामञ्जस्यता कायम गर्दै जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धिको रक्षा तथा प्रतिगमन विरुद्धको सङ्घर्षलाई बढीभन्दा बढी सशक्त प्रकारले अगाडि बढाउने हाम्रो प्रयत्न हुनेछ ।

    ११. अहिले देशका सबै प्रमुख राजनीतिक शक्तिहरूले २०८४ को चुनाव एक्लै लड्ने कुरामा जोड दिइरहेका छन् । अहिलेको स्थितिमाथि समग्र रूपले विचार गर्दा हामीले पनि त्यो चुनाव एक्लै लड्नुपर्ने परिस्थितिको सिर्जना हुँदै गएको छ । हाम्रो पार्टीको नवौँ महाधिवेशनले पनि त्यस प्रकारको परिस्थितिको व्याख्या गरेको छ र हाम्रो महाधिवेशनपछि पनि देशको राजनीतिक परिस्थितिको त्यही दिशामा विकास हुँदै गइरहेको छ । पहिले हामीले प्रतिगमनका विरुद्ध गठबन्धन र चुनावी तालमेल गर्ने नीति अपनाएका थियौँ । त्यो बेला एमालेसित कतै पनि तालमेल नगर्ने र साझा उम्मेदवारलाई जिताउन सबैले प्रयत्न गर्ने भन्ने समझदारी पनि हाम्रो बिचमा भएको थियो । चुनावको बेलामा त्यो नीतिको पूरै उल्लङ्घन गरियो भन्ने त होइन तर कैयौँ स्थानमा अन्य पक्षद्वारा त्यो साझा समझदारीको एक वा अर्को प्रकारले उल्लङ्घन गर्ने काम गरियो । त्यो भन्दा गम्भीर कुरा यो थियो कि त्यस प्रकारको साझा समझदारीको उल्लङ्घनको लागि कुनै पनि पक्षले त्यसका लागि जिम्मेवार व्यक्तिमाथि कुनै कारबाही वा सामान्य प्रकारको आलोचना पनि गरेनन् ।

    अहिले पनि चुनावी तालमेलको सम्भावनालाई हाम्रो पार्टीले पूरै अस्वीकार गर्दैन । कुनै प्रदेश, जिल्ला वा स्थानीय तहमा त्यस प्रकारको सम्भावना देखा परेमा त्यसप्रति हाम्रो नीति सकारात्मक नै हुने छ तर मुख्य रूपमा त्यस प्रकारको सम्भावना अत्यन्त कम छ । त्यसैले आगामी चुनाव एक्लै लड्नका लागि हामी अहिलेदेखि नै तयार हुँदै जाने र त्यही प्रकारले आफ्नो तयारी पनि गर्दै जाने कुरामा हामीले विशेष जोड दिन्छौँ ।
    १२. अहिले देशमा वामपन्थी संयुक्त मोर्चाको कुरा निकै उठिरहेको छ । त्यसबारे पनि हामीले आफ्नो दृष्टिकोण स्पष्ट गर्नु आवश्यक ठान्दछौँ । प्रथमतः अहिलेको देशको राजनीतिक स्थितिमा हाम्रो मुख्य जोड वामपन्थी वा प्रजातान्त्रिक मोर्चा वा गठबन्धनतिरै छ । २०४६ साल वा २०६२–६३ सालका गठबन्धन त्यही प्रकारका उदाहरण हुन् । ओलीको प्रतिगामी नीतिका विरुद्ध बनेको पाँचदलीय गठबन्धन पनि त्यही प्रकारको एउटा अर्को र पछिल्लो उदाहरण थियो । हाम्रो के विश्वास छ भने त्यस प्रकारको प्रजातान्त्रिक र वामपन्थी मोर्चा वा गठबन्धनको अहिले पनि आवश्यकता छ तर विभिन्न वाम वा प्रजातान्त्रिक राजनीतिक शक्तिले अपनाएका गलत नीतिका कारणले तत्काल त्यस प्रकारको सम्भावना देखिँदैन । त्यो सम्भावनालाई अस्वीकार गर्न सकिँदैन कि आउने दिनमा प्रतिगमनको खतराले गम्भीर रूप लिएमा वस्तुगत परिस्थितिले नै त्यस प्रकारको वाम प्रजातान्त्रिक गठबन्धनलाई अगाडि ल्याउन सक्ने छ तर तत्काल त्यस प्रकारको कुनै सम्भावना देखिँदैन र त्यसले प्रतिगमनको पक्षमा नै बल पुर्‍याउँछ । त्यसका लागि वाम प्रजातान्त्रिक शक्तिका गलत नीति नै जिम्मेवार छन् ।

    १३. जहाँसम्म वामपक्ष क्रान्तिकारी मोर्चाको प्रश्न छ, त्यसको औचित्यता र आवश्यकतालाई हामीले अस्वीकार गदैनौँ । अहिले सबै वामपक्षीय शक्तिका बिचमा पार्टीएकता भएर एउटै कम्युनिस्ट पार्टीको निर्माणको सम्भावनालाई ता हामीले देख्दैनौँ, त्यसका लागि अहिले देशमा वैचारिक, राजनीतिक वा सङ्गठनात्मक प्रकारले आवश्यक परिस्थिति तयार भएको छैन । त्यही पनि तत्कालीन रूपमा वामपन्थी शक्तिका बिचमा कार्यगत एकता भएर एउटा वामपन्थी मोर्चा बन्न सकेमा त्यो राम्रो हुन्थ्यो र त्यसले देशमा वामपन्थी आन्दोलन बढाउनको लािग धेरै नै मदत पुग्ने थियो तर त्यसका लागि कमसेकम दुईटा अवस्था पूरा हुनुपर्ने आवश्यकता छ : प्रथम– एउटा न्यूनतम वामपन्थी कार्यक्रममा सहमति र त्यसअनुसार इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता† द्वितीय– आपसमा जुनसुकै प्रकारका मतभेद भएपनि परस्परमा भएका सहमति वा समझदारीप्रति इमान्दारिता तर अहिले देशका कतिपय प्रमुख वामपन्थी शक्तिमा त्यस प्रकारको इमानदारिताको कमी पाइन्छ । प्रचण्डले वामपन्थी मोर्चाको निर्माणमा जतिसुकै जोड दिए पनि उनको मुख्य उद्देश्य आÇना राजनीतिक महत्त्वाकाङ्क्षा वा सत्ता प्राप्त गर्नको लागि नै त्यस प्रकारको मोर्चाको निर्माणमा जोड गरेको देखिन्छ । त्यसै गरेर परस्परमा भएका सहमति वा समझदारीलाई इमान्दारिपूर्वक पालना गर्ने पनि उनमा धेरै कमी पाइन्छ । त्यही कुरा कमबेसी मात्रामा एकीकृत समाजवादीमा पनि पाइन्छ । त्यस प्रकारको अवस्थामा तत्कालका लागि उनीहरूसित कुनै वामपन्थी मोर्चाको सम्भावनालाई हामीले देख्दैनौँ ।

    १४. देशमा साम्राज्यवादको हस्तक्षेपको खतरा पनि धेरै नै बढेर गएको छ । त्यसले गर्दा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि पनि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो अवस्थामा साम्राज्यवादको विरुद्धमा र राष्ट्रियताका पक्षमा भएका शक्ति वा त्यस प्रकारको एकताको आवश्यकता धेरै नै बढेर गएको छ तर प्रतिगमन विरुद्धको एकतामा भन्दा साम्राज्यवादको विरुद्धमा एकताको सम्भावना अत्यन्त कम, सीमित वा नगन्य जस्तै छ । प्रतिगमन विरुद्धको एकतामा बारम्बार अग्रसर भएका शक्तिहरू पनि साम्राज्यवादका विरुद्धको सङ्घर्षमा अग्रसर हुने सम्भावना अत्यन्त न्यून छ वा छैन भने पनि हुन्छ । भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद वा युरोपियन साम्राज्यवादप्रति उनीहरूको दृष्टिकोण हदभन्दा बढी सम्झौतापरस्त रहने गरेको पाइन्छ । त्यही पनि उनीहरूको त्यस प्रकारको सम्झौतापरस्त दृष्टिकोण अमेरिकी, भारतीय वा युरोपियन साम्राज्यवादी शक्तिहरूले खोजेको हदसम्म परस्त छैन । उनीहरू यो चाहन्छन् कि उनीहरूले चीनप्रति पूरै शत्रुतापूर्ण नीति अपनाउन् । नेपालका साम्राज्यवादपरस्त दृष्टिकोण राख्ने राजनीतिक शक्तिहरू पनि त्यो हदसम्म जान तयार छैनन् । त्यसैले भारतीय साम्राज्यवादले नेपालमा आफ्नो सिधै निर्देशनमा चल्ने राजनीतिक पार्टी निर्माण गरेको छ भने अमेरिकाले पनि हालसालै त्यही प्रकारको पार्टीको निर्माण गरेको छ । त्यसरी नेपालमा विदेशी शक्तिको गतिविधि अरू गम्भीर बनेर गएको छ । यो अवस्थामा अमेरिकी, भारतीय र पश्चिमी साम्राज्यवादी शक्तिसित सङ्घर्षको आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ । त्यसकारण नेकपा (मसाल) ले साम्राज्यवाद विरुद्धको सङ्घर्षमा विशेष जोड दिन्छ तर साम्राज्यवादको समस्या एउटा राष्ट्रिय समस्या नभएर अन्तर्राष्ट्रिय समस्या पनि हो । यो प्रश्न जनताको शान्तिसँग पनि जोडिएको छ । त्यसैले हाम्रो पार्टीले अन्तर्राष्ट्रिय रूपमा नै एकता कायम गरेर साम्राज्यवाद र युद्धका विरुद्ध तथा शान्तिका पक्षमा पनि आवाज उठाउनुपर्ने आवश्कतामा जोड दिन्छ ।

    १५. समग्रमा जनताका समस्याको समाधान र देशको दिगो विकास अहिलेको मुख्य समस्या हो । राणाशासन वा पञ्चायती शासनको अन्त्यपछि देशको कुनै विकास भएको छैन भन्ने सोचाइ गलत हो । त्यस प्रकारको सोचाइका पछाडि देशलाई पुनः पञ्चायती शासन, तानाशाही शासन वा राजतन्त्रतिर लैजानुपर्छ भन्ने सोचाइले नै काम गरेको छ । अहिले देशमा धेरै नै भ्रष्टाचार भएको कुरा सत्य हो तर राजतन्त्रअन्तर्गत राष्ट्रिय सम्पत्तिको लुट र राष्ट्रिय सम्पत्तिमा राजा र राजपरिवारको वर्चस्व कयौँ गुणा बढी थियो । राजतन्त्रअन्तर्गत ठुलो सङ्ख्यामा जनतामाथिको दमन, पोखराको कुप्रशिद्ध महिला बलात्कार र हत्या जस्ता काण्ड, देशव्यापी रूपमा चलेको मण्डले गुण्डातन्त्र तथा नारायणहिटीको दरबार हत्याकाण्ड जस्ता घटनाबाट राजतन्त्रअन्तर्गत देशको अवस्था कति धेरै नारकीय हुन्छ भन्ने कुरामा कुनै शङ्का रहन्न । त्यस प्रकारको पृष्ठभूमिमा राजतन्त्र वा पञ्चायती व्यवस्था जस्तो अवस्थामा फर्कने कुरा सम्पूर्ण देश र जनताका लागि आत्मघाती हुने कुरा प्रष्ट छ तर त्यसका साथै हामीले यो कुराबाट पनि ध्यान हटाउन सक्दैनौँ कि देशको अहिले जुन प्रकारको अवस्था छ, त्यही प्रकारको अवस्था कायम रहन दिनु अवश्य पनि सही हुने छैन । त्यसकारण त्यसमा परिवर्तन वा सुधार, जनताका समस्याको समाधान र देशको ठोस विकासको लागि ठोस पहलकदमीको आवश्यकता छ । त्यसको लागि निर्णयात्मक सर्त राजनीति नै हो । राजनीतिको अर्थ हुन्छ : प्रथम– राजनीतिक पार्टी र द्वितीय– सरकार । ती दुबै कुन प्रकारका हुन्छन् ? ती कति सही छन् वा गलत ? तिनीहरूले देशको सम्पूर्ण विकासक्रमलाई प्रभावित गर्दछ ।

    १६. आज देशमा सही प्रकारले विकास हुन सकिरहेको छैन भने त्यसको लागि अहिले देशमा क्रियाशील राजनीतिक पार्टीका गलत प्रकारका नीतिकार्यक्रम, कार्यशैली वा चरित्र नै जिम्मेवार छन् तर देशका सबै राजनीतिक पार्टीलाई एउटै श्रेणीमा राखेर विरोध गर्नु सही हुने छैन । एकातिर दक्षिणपन्थी, पुँजीवादी प्रजातान्त्रिक प्रकारका राजनीतिक शक्ति पनि छन् । पहिलो प्रकारका राजनीतिक शक्तिका विरुद्ध हामीले सम्झौताहीन प्रकारको सङ्घर्षको नीति अपनाउनुपर्छ । दोस्रो श्रेणीमा वामपन्थी, प्रजातान्त्रिक राजनीतिक सङ्गठन आउँछन्, जो बारम्बार सत्तामा आउने गरेका छन् तर जसका गलत, भ्रष्ट, जनविरोधी वा विभिन्न साम्राज्यवादी शक्तिका नीतिका कारणले देश र जनतालाई धेरै नै नोक्सान पुग्ने गरेको छ । यी राजनीतिक पार्टी वा सङ्गठनको अहिलेको कार्यविधि जति गलत भए पनि, उनीहरूले उच्च वामपन्थी वा प्रजातान्त्रिक सिद्धान्तको आदर्शका लागि नै सङ्घर्ष नै आÇनो पार्टी जीवन सुरु गरिएका थिए । उनीहरूले अहिले विभिन्न साम्राज्यवादपरस्त नीति अपनाए पनि उनीहरू पूरै नै साम्राज्यवाका निर्देशनमा चल्ने राजनीतिक शक्तिहरू होइन्न् । त्यसैले तिनीहरूलाई पूरै नै प्रथम प्रकारका राजनीतिक शक्तिको श्रेणीमा राखेर विरोध गर्नु सही हुने छैन तैपनि वर्तमान समयमा उनीहरूको राजनीतिक चरित्र, नीति र कार्यक्रम वा क्रियाकलापमा देखा परेका विकृतिका कारणले देशको विकास अवरुद्ध जस्तो भएको छ । त्यसकारण हामीले उनीहरूका विरुद्ध सङ्घर्ष गर्दै देशलाई अग्रगमनको दिशामा लैजाने नीति अपनाउनुपर्छ । यो कुराप्रति पनि हाम्रो ध्यान छ कि विद्यमान संसदीय प्रणाली वा गणतन्त्रअन्तर्गत जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन र त्यसको लागि नयाँ जनवादी व्यवस्थाको आवश्यकता छ । त्यो हाम्रो रणनीतिक कार्यक्रम हो तर तो कुरा जे भए पनि राजतन्त्र कुनै पनि प्रकारको तानाशाही व्यवस्था भन्दा विद्ययमा बहुदलीय व्यवस्था वा गणतन्त्र तुलनात्मक रूपले प्रगतिशील व्यवस्था हुन् । प्रतिगामी शक्तिहरूले विद्यमान व्यवस्थामाथि आक्रमण गरेर देशलाई प्रतिगमनतिर लैजान अभियान चलाइराखेका छन् । यो अवस्थामा विद्यमान बहुदलीय व्यवस्था वा गणतन्त्रको रक्षा गर्नु हाम्रो तात्कालिक कार्यदिशा हुन्छ र हुनुपर्दछ तर त्यसका साथै एकातिर, नयाँ जनवादी व्यवस्था ल्याउनको लागि परिस्थिति तयार पार्न, प्रचारात्मक आन्दोलन अगाडि बढाउँदै, अर्कातिर, विद्यमान व्यवस्थाका गलत नीति र क्रियाकलापका विरुद्ध लगातार सङ्घर्ष गर्दै जाने पनि हाम्रो तात्कालिक कार्यनीति हुनुपर्छ ।”

    बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.